जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री उपेन्द्र यादवले राज्यको विभेदकारी नीतिका कारण कृषि क्षेत्र पछाडि पर्दै गएको भन्दै किसानले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् ।
शनिबार राजविराजमा समाजवादी किसान महासंघ केन्द्रीय समितिले आयोजना गरेको मधेश प्रदेश स्तरीय प्रादेशिक भेला तथा पुनर्गठन समारोहमा बोल्दै उनले उर्वरभूमि तराई मधेश मरुभूमिमा परिणत भई त्यसको मार चाहीँ किसानहरुले खेप्नु पर्ने अवस्था आएको बताएका छन् । मुलुकमा विभिन्न राजनीतिक दलको नेतृत्वमा बन्ने गरेका सरकारले किसानका मुद्दाहरुलाई जोडतोडका साथ उठाउने त गरेका छन् । तर आफैले बोलेको कुरालाई कार्यान्वयन गर्नका लागि भने ध्यान नदिईएका कारण किसानहरुले त्यसको प्रत्यक्ष असर व्यहोर्नु परिरहेको छ । उत्पादनका समयमा झेल्नु परेका किसानका पीडा त छँदैछन्, उत्पादन गरिसकेपछि पनि उचित मूल्य नपाएका कारण घाटा लगाएरै त्यसलाई बेच्नु पर्ने किसानको बाध्यता प्रति कसैको ध्यान नपुग्नाले किसानका मुद्दा फगत भाषणरुपी ओठेभक्तिमा मात्र सिमित रहेका छन् । उत्पादन बिक्रीका लागि बजारको अभाव, बिचौलियाको बढ्दो चलखेलका कारणबाट पनि पीडित छन् नेपाली किसान ।
त्यसैले विभिन्न चरणमा विभिन्न मागका साथ जसरी विगतमा आन्दोलन गरिए अवस्था यस्तै रहने हो भने अब यहाँ किसानहरुले संगठित भएर आन्दोलन नगर्लान भन्न सकिन्न । किसानहरुलाई पनि दलगत आवरणमा विभक्त गर्नु भन्दा उनीहरुको समस्याको एकमुष्ठ सम्बोधन गर्ने तर्फ सरकारले चासो लिन आवश्यक छ । तब मात्र सोचे जस्तो कृषिमा परिवर्तन देख्न पाईने छ ।