फेरि सरकारमा फेरबदल भएको छ । संसदमा सबै भन्दा ठूलो दल रहेको नेपाली काँग्रेस सत्ताबाट बाहिरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा इन्ट्री हुन पुगेको छ । ‘राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुन्न’ भन्ने भनाई एक पटक फेरि चरितार्थ बनेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसित रातारात सरकार परिवर्तन गरी एमाले समेत सम्मिलित सरकार निर्माणको सहमति गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरी ‘धोकेवाज रहेछन’ भने प्रतिक्रिया दिएका छन् । उत्ता प्रचण्डले यसलाई ‘निरन्तरतामा क्रमभंगता’ भनि बताएका छन् । वर्तमान प्रतिनिधि सभाको निर्वाचनपछि बनेको सरकारमा पनि प्रचण्ड एमाले सहितको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर उक्त समीकरण धेरै नटिकी राष्ट्रपति निर्वाचनसम्म आईपुग्दा उनकै नेतृत्वको सरकारमा काँग्रेसको इन्ट्री भयो भने एमाले सरकारबाट बाहिरिन पुगेको थियो । यसरी एउटै कुरालाई फरक राजनीतिक दलका नेताले छुट्टाछुट्टै रुपले हेरेको अवस्था प्रष्ट भएको छ । त्यसैले यस घटनाक्रममा काँग्रेस तथा माओवादी सुप्रियोको फरक–फरक धारणा आएको हो ।
काँग्रेस सत्तामा रहुञ्जेलसम्म ‘वर्तमान गठबन्धनको सरकार नै पूरा कार्यकाल रहन्छ’ भनी सत्ताहरु दलका नेताहरुले ठोकुवा गर्दै आएका थिए । तर अहिले परिस्थिति फेरिएको छ । बदलिँदो परिस्थितिमा बनेको सरकार चाहीँ कहिलेसम्म टिक्ने हो भने कुरा अहिले नै किटान गर्न सकिने अवस्था छैन । आगामी समयले नै त्यसको निर्धारण गर्नेछ ।