• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले विद्यालयको समय–समयमा अनुगमन गरेको कुरा समाचारमा आउने गरेको छ ।
पछिल्लो चरणमा उनले वडा नम्बर २ स्थित आदर्श सरस्वती प्राथमिक विद्यालय लौवापारको शुक्रबार छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा विद्यालयमा ५० प्रतिशत भन्दा कम संख्यामा विद्यार्थीहरुको उपस्थिति रहेको अवस्था अध्यक्ष यादवले बुझ्ने अवसर पाएका छन् । विद्यालयमा नाम दर्ता गर्ने तर नियमित विद्यालय नआउने जस्ता समस्या सप्तरीका अधिकांश जसो सामूदायिक विद्यालयमा रहेको छ । विद्यालयमा विद्यार्थी भर्ना अभियान चलाएर कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित हुने अवस्था नरहोस भन्ने उद्देश्यका साथ विगतमा काम गरिएको भएपनि अहिले बालबालिकाको विद्यालयमा उपस्थिति घट्दै जानु अवश्य पनि चिन्ताको विषय हो । विद्यार्थी विद्यालयमा किन आउँदैनन? यसका पछाडि अनेकौं कारण हुन सक्छन । तर सम्बन्धित निकायले विद्यालय निरीक्षणमा देखाउने गरेको उदासिनता पनि यी कारण मध्येकै एक मानियो भने अन्यथा नहोला । सप्तरीका धेरैजसो स्थानीय तहमा आफ्ना मातहतका विद्यालयमा पठनपाठन कस्तो चल्दैछ, विद्यालयका के कस्ता समस्या छन् भन्ने बारे बिरलै अनुगमन हुने गरेको छ । रुपनीका अध्यक्ष यादवले समय समयमा यस्तो अनुगमन गर्ने गरेका छन् ।
अनुगमनका क्रममा समस्या फेला परेपछि तिनको समाधान पनि उनको ध्यान पुग्ला नै । तर यस्तै अनुगमनको परिपाटी अन्य पालिकाहरुमा पनि हुनुपर्ने आवश्यकतालाई नजरअन्दाज गर्न मिल्दैन । समग्र जिल्लाको शैक्षिक स्तर उकास्नका लागि सबै पालिकामा विद्यालय अनुगमनलाई निरन्तरता दिनै पर्छ ।