आजदेखि दुई दिनसम्म समाजवादी किसान महासंघ, नेपालको मधेश प्रदेश स्तरीय भेला सप्तरीको राजविराजमा आयोजना हुने भएको छ । ‘‘मधेशको शक्ति–कृषिमा क्रान्ति, मधेश प्रदेश–कृषियुक्त प्रदेश’’ नाराका साथ भेलाको आयोजना हुन लागेको हो ।
भेलामा महासंघ आवद्ध प्रदेश भरिकै प्रतिनिधित्व रहने छ । प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्रको मूल आधार कृषिलाई नै मानिएको छ । त्यस कारणले पनि समग्र कृषि पेशालाई जीवन्तता दिने किसानहरुको यस भेलाको खास महत्व रहेको मान्नुपर्दछ । कृषिको अवस्थालाई इमान्दारिताका साथ भन्ने हो भने क्रमशः ओह्रालो लाग्दो छ । यसको मूल कारण सरकारले किसानका समस्या हल गर्नेतर्फ देखाएको उदासिनता नै रहेको भनियो भने अन्यथा नहोला । समयमा मल, विऊ नपाउनु, सिँचाईको अभाव रहनु जस्ता समस्या किसानले पटक–पटक ब्यहोर्नु परिरहेको छ । त्यस बाहेक उत्पादनको उचित मूल्य नपाउनु, बजारको अभाव लगायतका कारणले पनि किसान घाटा ब्यहोर्न बाध्य छन् । बिचौलियाको चलखेलका कारण कौडीको मूल्यमा उत्पादन बेच्नु पर्ने बाध्यता छ भने अर्को तर्फ आम उपभोक्ता चर्को मूल्य तिरेर त्यही उत्पादन किन्न विवश छन् । बचिको मुनाफा बिचौलियाले खाई दिने गरेका कारण किसान र आम उपभोक्ता दुवै मर्कामा परिरहेको अवस्था छ । पछिल्लो चरणमा यतिबेला दूध उत्पादन किसानहरु आन्दोलनमा उत्रेका छन् । सरकारले नै करोडौंको भुक्तानी नदिएपछि जिल्लै पिच्छै दूध उत्पादक किसानका आन्दोलन चल्दैछ । कृषिको भूल आधार भूमिकै रुपमा रहेको मधेश प्रदेशमा पनि किसानका अनगिन्ती समस्या यथावत छन् । संयोग नै भन्नु पर्दछ कि यस प्रदेशमा जनता समाजवादी पार्टीको नेतृत्वमा प्रदेश सरकार रहेको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री सप्तरीबाटै रहेको र जनता समाजवादी पार्टी समर्थित समाजवादी किसान महासंघको प्रदेश स्तरीय भेला पनि सप्तरीकै सदरमुकाममा हुन गईरहेको छ । भेलाले किसानका यावत समस्याका बारेमा बृहत छलफल चलाउनका साथै तिनको समाधानका लागि मार्गचित्र प्रस्तुत गर्न सकोस् भन्ने आम किसानको चाहना रहेको वास्तविकतालाई नजरअन्दाज गर्न मिल्दैन ।
यस भेलाले समग्र किसानका समस्याको सा·ोपा·ो मिमांसा गर्नाका साथै ती समस्याको हल निकाल्नका लागि एकीकृत रुपमा दबाव सिर्जना गर्न सक्यो भने यसको सार्थकता पक्कै पनि मुखारित भएर जानेछ । तसर्थ यो भेलालाई फगत औपचारिकताका लागि मात्र नभई परिणाममुखी बनाउनका लागि प्रयत्नशील रहन जरुरी छ ।