• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार सप्तरीको खडक नगरपालिकाका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरेका छन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीको समन्वय तथा खडक नगरपालिकाले कल्याणपुरमा आयोजना गरेको समारोहमा श्रेष्ठले वडा नम्बर ६ का केही व्यक्तिलाई लालपूर्जा वितरण गरेका हुन् । मन्तव्यका क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले मुलुकलाई सुकुम्बासीमुक्त बनाउने अभियानका साथ सरकार अघि बढेको भन्न छुटाएनन । सरकार साँच्चिकै यस्तो अभियानका साथ अघि बढेको हो भने त्यसलाई प्रशंसनीय कार्य नै भन्नु पर्दछ । तर अहिलेसम्मको यथार्थ हेर्ने हो भने सुकुम्बासी समस्या विकराल रुपमा नै रहेको छ भनि यो भने अन्यथा नहोला । सपतरीकै सन्दर्भमा पनि उल्लेख गर्ने हो भने यो जिल्ला बढी संख्यामा दलितहरुको बसोबास रहेको जिल्ला मानिन्छ । यहाँका डोम, मुसहर, राम (चमार) लगायत विभिन्न दलित मध्ये अधिकांश अहिले पनि भूमिहिन नै छन् । हरुवा चरुवाको समस्या पनि भूमिसित समेत जोडिएको मुद्दा हो । विपन्न दलितले पुस्तौदेखि बस्दै आएको जग्गाको स्वामित्व राज्यपक्षबाट सुरक्षित नगरिएका कारण उठिबासको चिन्ताले पिरोलिनु परिरहेको अवस्था छ । भूमिसित जोडिएकै मुद्दा उठाई हरुवा चरुवाहरु सप्तरीमा आन्दोलित रहँदै आएका छन् । अव्यवस्थित बसोबासको समस्या पनि यही मुद्दाको सेरोफेरोमा रहेको छ ।
तसर्थ एक आधा दर्जन व्यक्तिलाई जग्गाको लालपूर्जा वितरण गरेर मात्र समस्या समाधान भयो भन्ने रुपमा बुझ्नु भन्दा पनि भूमिहीन समस्या समाधानको विषयलाई निरन्तरता राख्नु वेश हुनेछ ।