• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अग्नीसाईर कृष्णसवरण गाउँपालिका अध्यक्षले रोक्का रहेको जग्गा फुकुवाका लागि मालपोत कार्यालयमा पत्राचार गरेको भन्दै आन्दोलन नै चल्यो । बजारको जग्गालाई भू–माफियाहरुसित मिलेर चलखेल गर्न लागेको भन्दै बजारसमितिको नेतृत्वमा आन्दोलन नै चल्यो ।
वर्षौ देखि बजार लाग्दै आएको उक्त सार्वजनिक जग्गाका बारेमा विवाद भएपछि मालपोतले रोक्का राखेको थियो । सवालमा कृष्णसवरणको मात्रै होइन, सप्तरीका अन्य ठाउँका सार्वजनिक जमीन समेत कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुरा प्रति सोच्नु पर्ने समय आएको छ । कतै बाटो मिच्ने, कतै गल्ली अतिक्रमण गर्ने त कतै विद्यालयको जग्गा समेत व्यक्तिले मिचेर उपयोग गर्दै आएका धेरै उदाहरण छन् । कुनै कुनै ठाउँको सार्वजनिक पोखरीको अहलिे नामोनिशान नरहेको अवस्था छ । यसरी सार्वजनिक स्थल मिच्ने, अतिक्रण गर्ने कार्य बढ्दै गएमा आगामी दिनमा अवस्था अझै गम्भीर बनेर नजाला भन्न सकिन्न ।
तसर्थ सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पाएको स्थानीय तहले यसका बारेमा ध्यान राख्न आवश्यक छ । स्थानीय सरकारकै भूमिकामा रहेको स्थानीय तहमाथि सार्वजनिक स्थल संरक्षणको अधिकार पनि छ । आफ्ना अधिकारको प्रयोग गरेर यस्तो अवैध धन्दामाथि नियन्त्रणको आवश्यकता छ । राजविराज नगरपालिकाले बाटो मिचेर निर्माण गरिएका संरचना भत्काउने अभियान नै चलाईसकेको छ । अझै पनि सडक मिचेर निर्माण गरेको संरचना हटाएर खुलागर्ने काम बाँकी नै छ । तथापि जति पनि काम भएको हो, त्यसमा नगरपालिकाले आफ्नो अधिकार प्रयोग गरेकै भन्नु पर्ने हुन्छ । अन्य स्थानीय तहहरुले पनि यस्तो अभियान चलाई सार्वजनिक स्थललाई जोगाउन जरुरी छ ।