सप्तरीका विभिन्न सडक खण्ड स्तरोन्नतिको काम थालनी भए पनि कतिपय स्थानमा काम अधुरै छाडिएको छ । बीच–बीचमा यसरी काम अधुरोध राखिएका कारण यसले दुर्घटनाको जोखिम बढाएको छ । यसका साथै सुक्खा समयमा धूलो र बर्षामा हिलाम्य रहने गरेका कारण यातायातका साधन सञ्चालनमा पनि समस्या रहने गरेको छ ।
विशेष गरी वर्षा याममा सवारी साधन हिलोमा फँस्ने गरेका कारण सडकमा सवारी साधनको जाम हुने गरेको छ । स्तरोन्नतिका क्रममा सडक चौडा पार्ने, पिच गर्ने लगायतका काम हुने गरेका छन् । तर बीच–बीचमा केही खण्डकामै नगरिकन छोडिदिएका कारण दुर्घटनाको सम्भावना बढेको हो । जिल्लामा हुलाकी सडक, रुपनी–राजविराज तथा पातो–कठौना सडकमा अहिले स्तरोन्नतिको काम चल्दै आएको छ भने पूर्व–पश्चिमको मार्गमा पनि काम चालु छ । पातो–कठौना सडकको डेढ किलोमिटर जति मात्र कालो पत्रे गरेर अहिले काम बन्द रहेको अवस्था छ । कामदारको पैसा समेत बाँकी राखेर ठेकेदार अन्यत्र गएपछि अहिले काम रोकिएको छ ।
यस्तो धिमागतिमा काम गर्दा तोकिएको मिति भित्र काम सम्पन्न कसरी हुन सक्ला भन्ने आशंका समेत उत्पन्न हुने अवस्था छ । एकातिर घोषित समयमा काम सम्पन्न नहुनु र अर्कोतिर बीच–बीचमा काम अधुरो राख्ने प्रवृत्तिले अनेक प्रकारका समस्या खडा गरेको छ । समयमा काम गर्न तथा अधुरो कामलाई पनि पूरा गर्ने तर्फ सञ्चालित निकायले ध्यान दिन जरुरी भएको छ । सडक स्तरोन्नतिका लागि सरकारले गरेको लगानीको सार्थकताका लागि पनि अधुरो राखिएको कामलाई पूरा गराउनेतर्फ लाग्नु आवश्यक छ ।