कृषिले अर्थतन्त्रमा ठूलो टेवा पु¥याउँदै आएको वास्तविकता प्रति शायदै विमति होला । त्यसैले हरेक जसो सरकारले यसै क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न छुटाउँदैनन् ।
शिक्षा, स्वास्थ्य जस्तै कृषिलाई पनि प्राथमिकतामा राखेर बजेट छुत्याईन्छ । तर पनि कृषिलाई पछौटेपनले छाडेको छैन । कृषि भन्नाले यससित शहर भन्दा पनि गाउँ नै जोडिएको हुन्छ । कारण, कृषियोग्य भूमि शहरमा नभई गाउँमै रहने गरेका कारण गाउँघर र कृषिको सम्बन्ध अटुट बनेको हो । गाउँका मानिसले कृषिलाई नै जीवीकोपार्जनको मूल आधार मानेर काम गरेको परम्परा नै छ । यस दृष्टिकोणले हेर्दा ग्रामीण क्षेत्रमा पनि विकासको लहर पुग्न जस्तो आवश्यकता छ त्यस मुताविकको काम हुन सकिरहेको छैन । शिक्षा, स्वास्थ्य, सडक लगायतका अत्यावश्यक कुरामा पनि गाउँको पहुँच कम रहेको वास्तविकता कसैबाट लुकेको छैन । कृषिको उत्थानका लागि सडक सञ्जालको पनि विकास हुनु अत्यावश्यक मानिन्छ । गाउँको कृषि उत्पादनलाई बजारसम्म पु¥याउनका लागि सडक सञ्जाल अपरिहार्य नै छ । शहरी क्षेत्रमा सञ्चालन गरिने विकासीय आयोजनाहरुलाई गाउँसम्म पु¥याउनका लागि निर्णायक तह र नेतृत्वमा रहेकाहरुले ध्यान दिनुपर्ने विषय हो । चुनावका समयमा मात्र मत माग्दै गाउँ–गाउँ धाउने अनि चुनाव सकिएपछि मुखै न देखाउने परिपाटीले गाउँको विकास सम्भव हुँदैन ।
तसर्थ पिछडिएका क्षेत्रका जनताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्न सकियो भने मात्र मुलुकको सन्तुलित विकास पनि सम्भव हुनेछ । गाउँलाई विर्सने र सहरमुखी सोच मात्र पाल्ने हो भने यसले मुलुकको विकास कसरी सम्भव होला?