• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जनमत पार्टीले राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा लगाएको ताला खुलेको छ । बिहीबार सर्वदलीय, सर्वपक्षिय बैठकमा भएको सहमतिसँगै माघ ७ गतेदेखि लगाएको ताला खोलिएको हो ।
बैठकमा कृषि विश्वविद्यालयले आफ्ना कमीकमजोरी महशुस गर्दै सबै राजनीतिक दल र प्रशासनसित समन्वय र सहकार्य गर्ने निर्णय पश्चात सहमतिको बाटो खुलेको हो । विवादको जडका रुपमा रहेको विश्वविद्यालय भवन शिलान्यासका क्रममा भएको समन्वयको कमी र त्यसबाट भएको दुःखद घटनाप्रति पनि दुःख व्यक्त गरिएको छ । काम गर्ने सिलसिलामा भएका कमी कमजोरीलाई आत्मसात गर्दै भविष्यमा सरोकारवाला र सम्बन्धित पक्षसित समन्वय र सहकार्यका साथ अघि बढ्ने निर्णय हुनु सकारात्मक कुरा नै हो । समन्वय र समझदारी अभावले सानोतिनो विवाद पनि उग्र रुपमा परिणत हुने भएका कारण त्यस्तो अवस्था नै आउन नपाओस् भनी प्रतिबद्धता जनाउनुलाई सकारात्मक रुपमा नै लिनु पर्दछ । समन्वयले नै सहमति कायम हुने अनि सहमतिले काम गर्न सहज वातावरण निर्माण हुने भएका कारण पनि बिहीबार भएको सर्वदलीय, सर्वपक्षिय छलफल र त्यस क्रममा भएको निर्णय स्वागतयोग्य बनेको छ । विश्वविद्यालय भवन शिलान्यासका क्रममा भएको समन्वय अभावले नै अप्रिय स्थिति उत्पन्न भएका कारण त्यसबाट पाठ सिकेर आगामी दिनमा त्रुटिरहित तबरले काम गर्नु पर्ने सचेतना पनि जागृत भएको मान्न सकिन्छ ।
विश्वविद्यालयमा भएको तालाबन्दीका कारण पठनपाठनबाट बञ्चित बन्न पुगेका त्यहाँ अध्ययनरत विद्यार्थीहरुको पढाई अव सुचारु हुने भएको छ । सहमतिमा भएका निर्णय कार्यान्वयन होउन र पठनपाठन अबरुद्ध हुने अवस्था दोहोरिन नपाओस् भन्ने तर्फ अब सम्बन्धित सबैले ध्यानपूर्वक काम गर्नु आवश्यक छ ।