सप्तरीको खडक नगरपालिका अन्तर्गतका कार्यालयमा कार्यरत २२ जना कर्मचारीलाई आईतबार प्रमुख प्रशासकीय अधिकृतले स्पष्टीकरण सोधेका छन् ।
कार्यालय समयमा ड्युटीमा अनुपस्थित रहेको भेटिएपछि उनीहरुमाथि स्पष्टीकरण सोधिएको हो । जिल्लाका १८ पालिका मध्ये प्रमुख प्रशासकीय अधिकृतले यसरी अनुगमन गरी कर्मचारी उपस्थित रहे नरहेको जानकारी लिने परम्परा बिरलै देख्ने गरिएको छ । खडक नगरपालिकाले ढिलै भएपनि अनुगमन थालेर स्पष्टीकरण सोध्ने कार्यलाई सकारात्मक नै मान्नु पर्दछ । कार्यालय समयमा पनि कर्मचारी कार्यकक्षमा नभेटिने गरेको समस्या नयाँ होईन । अझ स्थानीय तहमा सेवाग्राही आवश्यक काम लिएर गएका बखत पनि अधिकांश फाँटमा कर्मचारी नै फेला नपर्ने गरेको भन्ने ब्यापक जनगुनासो रहने गरेको छ । कार्यालय समय भईसक्दा पनि ढिलो गरेर कार्यालय आउने, समय बाँकी रहँदै पहिले नै निस्कने, खोजी भएमा एउटा न एउटा बहाना बनाएर बाहिर जानु परेको बताउने जस्ता कारणले सेवाग्राहीका काम प्रभावित हुने गरेको भनी गुनासो उठ्ने गरेको छ । मातहतका कार्यालयमा काम कसरी भईरहेको छ भन्ने विषयमा समय–समयमा अनुगमन गर्ने परिपाटी नरहेका कारणले पनि कार्यालय समयमा कर्मचारी नबस्ने बेथिति बढेको मान्न सकिन्छ ।
खडक नगरपालिकामा त २२ कर्मचारी माथि स्पष्टीकरण सोधिएको छ । बाँकी अन्य पालिकामा चाहीँ सबै थोक दुरुस्त छ भनी विश्वस्त हुनु भन्दा पनि त्यहाँ समेत अनुगमनको परम्परालाई सुचारु राख्न सकिए यस्ता कमजोरी हटाउन सघाउ पुग्नेछ ।