• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश कृषि विश्वविद्यालय शिलान्यासका क्रममा सोमवार राजविराज दिनभरि जसो तनावग्रस्त बन्यो ।
शिलान्यासको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयमा कुरा नमिलेका कारणले नै यस्तो तनावको अवस्था आएको हो भन्ने जानकारहरुको कथन छ । शिलान्यास अमुक व्यक्तिले गर्दा मात्र विश्वविद्यालयको उद्देश्य पूरा हुने अन्यथा नहुने कुरा चाहीँ होइन । तथापि दुई राजनीतिक दलका बीच यही विषयलाई लिएर बढेको होडवाजीका कारण प्रदेशका शिक्षा मन्त्री र केही सांसदमाथि समेत प्रहरीबाट कुटपिट भएको छ, कुटाईबाट पिएसओ समेत घाईते बन्न पुगे । विश्वविद्यालय शिलान्यासको उल्लासमय समय हुनुपर्नेमा यस्तो दुःखद घटना घट्यो र तनाव पनि बढ्यो । कुरा कृषि विश्वविद्यालयको मात्र होईन । प्रायः जसो कलेज लगायतका शिक्षक संस्थामा पनि फरक–फरक सिद्धान्त अंगीकार गरेका विद्यार्थी संगठनहरुका बीच पनि त्यहाँ आफ्नो प्रभुत्व कायम गर्ने होडबाजी चल्ने गरेको छ । विद्यार्थीको भविष्य निर्माणका लागि निर्वाध रुपले पठनपाठन हुनुपर्ने यस्ता शिक्षक संस्थाहरु यस्तै राजनीतिको शिकार बन्ने गरेका छन् । अवस्था यतिसम्म विग्रन थालेको छ कि कतै कतै त क्याम्पस प्रमुखलगायत शिक्षक माथि समेत हातपातका घटना हुन थालेका छन् । शिक्षण संस्थामा हुने यस्ता अवाञ्छित गतिविधिले पठनपाठन त विथोलिने गरेकै छ । यसका साथै यस्ता घटनाले प्रवाह गर्ने सन्देश पनि नकारात्मक नै रहने निश्चितै छ ।
तसर्थ यी पवित्र संस्थाहरुलाई बाहुबल प्रदर्शनको स्थल होईन, बरु सप्तरी स्तरीय पठनपाठन हुन्छ र त्यहाँ अध्ययन गरेकाहरु दक्ष र विज्ञका रुपमा तयार भएर निस्कन सक्छन भन्नेमा सबैले चासो लिन सके त्यसबाट आउने परिणाम पनि सकारात्क हुनेछ । त्यस्तै शिक्षण संस्थामा मसल्स प्रयोग गरी शक्ति प्रदर्शन गर्ने, भिडन्त गरी आफ्नो शक्ति प्रदर्शन गर्ने र विद्याथीले शान्तिपूर्ण वातावरणमा पढ्न पाउनु पर्ने अधिकारमाथिको हनन जस्ता नकारात्मक कार्य सदाका लागि रोक्न आवश्यक छ ।