• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासको कार्यक्रम तनावका वीच सम्पन्न भएको छ ।
सोमबार एकातिर भारतको अयोध्या स्थित मर्यादा पुरुष श्री राम मन्दिरमा प्राणप्रतिष्ठाको कार्यक्रम राखिएको थियो । यही पावन समयमा राजविराजमा पनि मधेश प्रदेश कृषि विश्वविद्यालयको भवन शिलान्यासको कार्यक्रम थियो । प्रदेशकालागि नै ड्रीम प्रोजेक्टका रुपमा रहेको विश्वविद्यालय भवन शिलान्यासका क्रममा जस्तो उल्लास तथा खुशियाली हुनु पर्ने हो,त्यो हुन पाएन । खुशियाली भन्दा पनि तनावका वीच भवन शिलान्यासको काम सकिएको छ । जिल्लामै दुई पार्टीका वीचको जुँगाको लडाइँका कारण तनावको अवस्था सिर्जना भएको भनि कतिपय स्थानीयले प्रतिक्रिया समेत दिएका छन् । विकासीय काममा दलगत भावना भन्दा पनि विकासलाई नै प्राथमिकतामा राखेर अघि बढ्ने सोच कायम नभएसम्म यस्ता अनपेक्षित तनाव आउने गर्दछन् भन्ने कुरालाई सोमबारको अवस्थाले चित्रण गरेको मान्न सकिन्छ । शिलान्यास कार्यक्रममा आफूहरुसित कुनै सम्पर्क नै नगरी एक पक्षिय ढंगबाट आयोजकले काम गरेको भन्ने असन्तुष्ट पक्षको कथन छ । प्रदेशको शिक्षामन्त्रीका नाताले विश्वविद्यालयको सहकुलपति रहँदा पनि आफूसित कुनै सम्पर्क नगरी कार्यक्रम तय गरिएको भनि मधेश प्रदेशका शिक्षामन्त्रीले नै आरोप लगाएका छन् । यदि त्यसो हो भने आयोजकबाट त्रुटी भएको नै मान्नु पर्ने हुन्छ ।
तथापि आयोजक पक्षबाट चाहिँ सम्बन्धित सबैलाई निमन्त्रणा दिएर नै कार्यक्रम गर्न लागेको बताईएको छ । जे होस्,विकासका काममा कसले शिलान्यास अनि कसले उद्घाटन गर्ने भन्ने कुरा भन्दा पनि विकासका काम जसले गरेता पनि सबै पक्षबाट सहयोग र समर्थन गर्ने परिपाटी स्थापित भयो भने मात्र जिल्लाको अवस्थामा पनि सुधार आउने छ । यस्तै बिरोध मात्र भईरहने र एकपक्षिय ढंगले चल्ने परम्परा विकसित हुने हो भने विकास भन्दा पनि विवादले नै गम्भीर समस्या ननिम्त्याउला भन्न सकिन्न ।