मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका लहानका रमेश महतो लगायत सम्पूर्ण सहितहरुको सम्मानमा माघ ५ गते हिजो बलिदानी दिवस मनाइएको छ ।
सहितको सम्मान स्वरुप यस दिवसमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ । वर्ष दिनमा एक पटक भए पनि मधेश आन्दोलनका सहिदहरुलाई स्मरण गर्ने गरिन्छ । तर सहिदको सपना चाहीँ अहिले पनि पूरा भईसकेको भन्न सकिन्न । सहिदहरुको सपना भनेको मुलुक र मुलुकवासीको अवस्थामा सकारात्मक परिवर्तन आउन सक्नु नै हो । अधिकार, अवसर, आत्मसम्मान, समान सहभागिता लगायतका कुराको प्राप्ती परिवर्तनकै रुप हुन् । मुलुक सदियौं देखि चल्दै आएको सकारात्मक शासन अवस्थालाई फालेर संघीय लोकतान्त्रिक गणतन्त्र आएकोे छ । व्यवस्था परिवर्तन नएर पनि तल पारिएका जनताको अवस्थामा चाहीँ अहिले पनि सोचेजस्तो परिवर्तन आउन नसकेको अवस्था छ । विपन्नता, अशिक्षा तथा रोगको कारणले मुलुकका गरिब जनता अहिले पनि समस्यामै छन् । बेरोजगारी, भ्रष्टाचार, महँगी जस्ता विकृति र बेथितिले जरा गाडेको गाड्यै छन् । परिवर्तनबाट सत्तामा पुग्नेहरु पनि बदलिए होलान् । तर जबसम्म विपन्न जनताको अवस्थामा सुधार आउँदैन तवसम्म साँचो परिवर्तनको प्रत्याभूति नमिल्ने पनि निश्चित छ ।
सहिदहरुप्रति सच्चा सम्मानका लागि तल पारिएका जनताको अवस्थामा सुधार आउनै पर्दछ । विपन्न जनता मात्र होइन सहिदका परिवारको पनि अवस्था बेहाल रहेका समाचार आई नै रहेका छन् । सहिदप्रतिको सम्मानका लागि यस्ता कुरामा ध्यान दिनु जरुरी छ ।