• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको रुपनी गाउँपालिकाले सार्वजनिक स्थलको दुरुपयोगमाथि कडाई गरेको छ । उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादवले तीन दिन अघि एक सूचना जारी गर्दै सार्वजनिक बाटो सामूदायिक भवन लगायतका सार्वजनिक स्थलको अतिक्रमण नगर्न आग्रहका साथ त्यसो गरे कारवाहीसम्मको चेतावनी दिएका छन् ।
हो, सप्तरीमा यसरी सार्वजनिक स्थलमाथि अतिक्रमण र दुरुपयोग रोगकै रुपमा रहेको छ । यसका बावजुद पनि सरोकारवाला निकायले त्यसमाथि रोक लगाउन सकिरहेका छैनन् । अवस्था यतिसम्म बिग्रेको छ कि गाउँमा कुनै ठालुको घरमा बिहेबारीको कार्यक्रम हुँदा गाउँको विद्यालय बन्द गरी त्यहाँ भोजको आयोजना गर्ने, विद्यालयका कोठा तथा फर्निचर जस्ता निजी काममा प्रयोग गर्ने, विद्यालयको चउरमा राजनीतिक दलको आमसभा गर्ने जस्ता दुरुपयोगका घटना नभएका होइनन । सार्वजनिक स्थलमाथिको अतिक्रमण र दुरुपयोग माथि रोक लगाउने जिम्मेवारी मूलतः स्थानीय तहकै हो । यसका लागि उनीहरुलाई अधिकार पनि दिईएकै छ । तर बढी जसो स्थानीय तहहरुले यसप्रति ध्यानै नदिने गरेको, कतिपयले अतिक्रमण हटाउनका लागि सूचना जारी गरे पनि त्यसको पालना नगरिएको अवस्था छ । रुपनी गाउँपालिकाले पनि यसमा चासो लिएर सूचना जारी गर्नुलाई सकारात्मक कार्य नै भन्नु पर्दछ । सार्वजनिक जग्गा, सडक, बाटो, विद्यालय, सामूदायिक भवन, खेलमैदान लगायत कुनै पनि सार्वजनिक स्थललाई व्यक्तिको निजी स्वार्थका लागि अतिक्रमण वा दुरुपयोग गर्न मिल्दैन । सार्वजनिक स्थल भनेका सार्वजनिक सम्पत्ति नै हुन् । तिनको संरक्षणमा स्थानीय तहले त ध्यान दिनु पर्छ नै । नागरिक स्तरबाट पनि तिनको सुरक्षाप्रति जागरुक हुन सके यसको जगेर्नामा थप बल पुग्नेछ ।
स्थानीय सरकारका रुपमा समेत रहेका स्थानीय तहले अतिक्रमण तथा दुरुपयोग रोक्न प्रथम चरणमा सूचना जारी गरिए पनि त्यसको उल्लंघन कसैले गर्छ यदि भने त्यसमाथि कारवाही गर्न समेत पछि पर्नु हुन्न ।