कक्षा १२ पास गर्नेबित्तिकै विदेश जाने लहर बढ्न थालेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर हे¥यो भने विदेश जाने युवाहरुको लर्कोले जो कसैको पनि मनमा पीडा दिने अवस्था छ ।
स्वदेशका शिक्षण संस्थामा राजनीतिक दाउपेच, बन्दहडतालका कारणले अस्तव्यस्त अवस्था छ । निजी कलेजमा महँगो शुल्क रहेका कारण त्यहाँ अध्ययन गर्न सबैको पहुँच पुग्न सक्ने अवस्था छैन । सरकारी कलेजमा पढाईभन्दा बढी राजनीति हावी हुनु,योग्य भन्दा पनि दलको समर्थकलाई नेतृत्वमा नियुक्त गर्ने परिपाटी तथा विवादका कारण यसको मार अध्ययन गर्न चाहने विद्यार्थीमाथि परिरहेको अवस्था छ । समग्रमा उच्च शिक्षा अध्ययनकालागि विदेशतर्फ जानेतिर नै विद्यार्थीको आकर्षण बढिरहँदा पनि सरकारले यसका बारेमा कुनै चासो नलिएको अवस्था छ । बिग्रने लक्षण देखा पर्नासाथ त्यसमा सुधारकालागि पहल थाल्नु आवश्यक हो । तर अवस्था गम्भीर भईसक्दा पनि सरकार बेखबर झैं रहेको कारणले सुधारका लक्षण देख्न पाईएको छैन । विद्यार्थी विदेशिनु भनेको मुलुकबाट विदेशी मुद्रा बाहिरिनु पनि हो । यस्तै अवस्था रहने हो भने उच्च शिक्षा अध्ययनकालागि स्वदेशमा स्थापना भएका कलेजहरु बन्द नै हुने अवस्था आउन सक्दछ । शिक्षा क्षेत्रमा देखिएका विकृतिमा सुधार तर्फ केन्द्रीत भएर सरकारले काम गर्न ढिलो भईसकेको छ ।
मुलुकको अवस्था बिग्रँदा पनि सरकारका सहभागी दल तथा तिनका नेताहरु सत्ता टिकाउनेतिर मात्र लागिरहने हो भने अवस्था अझै गम्भीर बनेर नजाला भन्न सकिन्न । तसर्थ सत्ताको चिन्ता छोडेर बिग्रँदो अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ भन्नेतिर चिन्तनको आवश्यकता छ ।