• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विचार

राजविराजका चार कर्मचारीलाई हाजिरीमा रोक

राजविराजका चार कर्मचारीलाई हाजिरीमा रोक
न्यूज टुडे
राजविराज, २ माघ ।
सप्तरीको राजविराज नगरपालिकाका ४ जना करार सेवा तथा दैनिक ज्यालादारी कर्मचारीलाई हाजिरीमा रोक लगाइएको छ। इन्जिनियर अशोक दास, फिरोज अलि, राजविराज पोलिटेक्निक प्रमुख ओसो कर्ण र जेसिवी चालक श्याम दासलाई मंगलबार कार्यालयमा हाजिर हुनबाट रोक लगाइएको हो ।
उनीहरुको करार सेवा अवधि सकिएपछि जनप्रतिनिधिले कार्यालयमा हाजिर हुनबाट रोकेको एक कर्मचारीले बताए । सेवा अवधि समाप्त भएका कर्मचारीहरु हाजिर हुन खोजेपछि कार्यपालिका सदस्यहरुले रोक लगाएको उनले बताए ।
ती कर्मचारीहरुले आफ्नो जिम्मेवारी बहन नगरेको आरोप लगाउदै बहुमत कार्यपालिका सदस्यले राजविराज नगरपालिकामा यसअघि नै निवेदन दर्ता गराएका थिए ।
राजविराज नगरपालिकाका २५ कार्यपालिका सदस्य मध्ये १९ जनाले उनीहरुलाई हटाउने मागसहित नगरपालिका कार्यालयमा निवेदन दर्ता गरेपछि जनप्रतिनिधिहरु विचको विवाद उत्कर्षमा पुगेको थियो।
जनप्रतिनिधि विचनै मत विभाजन भएपछि पुस मसान्तसम्म मात्र करार सेवा अबधि रहेका इन्जिनियर दास, क्याम्पस प्रमुख कर्ण, जेसिवी चालक दासको सेवा समाप्त भएको हो ।
गैर जिम्मेवार कर्मचारीहरुलाई हटाउन र स्थायी कर्मचारी ल्याउन सहमतिका लागी प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङलाई दुइहप्ता अगाडि निवेदन दिंदा समेत सुनुवाइ नभएको एक कार्यपालिका सदस्यले जानकारी दिए ।
उनका अनुसार इन्जिनियर अलिको गत असारमै करार सेवा समाप्त हुँदा समेत हालसम्म कार्यरत छन् भने अन्य ३ कर्मचारीको पुस मशान्त सम्ममात्र सेवा अवधि थियो ।
इन्जिनियर द्वोय दास र अलिले जिम्मेवारी बहन नगरेको, जेसिवी चालक दास कामै नगरी बस्ने गरेको तथा क्याम्पस प्रमुख कर्णले ४ बर्षसम्म पनि आयव्यय सार्वजनिक नगरेकोले उनीहरुको सेवा अवधि नथप्न बहुमत कार्यपालिका सदस्यले अडान लिएका छन् ।
कार्यपालिका सदस्यहरु विच विवाद बढेपछि बैठक बस्न नसक्दा महत्वपूर्ण निर्णयहरु प्रभावित हुन पुगेको नगर प्रबक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिए ।
कार्यबाहक नगरप्रमुख इसरत परविनको अहमताले समयमा बैठक बस्न नसक्दा जनप्रतिनिधि विच दुरि बढेको उनले बताए ।