मुलुकका विभिन्न ठाउँमा सडक स्तरोन्नतिको काम सुरु भएको छ । तर लामो समय वितिसक्दा पनि आधाजस्तो पनि पूरा नभएका कारण जनताले सास्ती खेप्नु परेको छ ।
सडकमा निर्माणको काम र यातायातका साधन एकै साथ चल्ने भएका कारण विशेषतः यात्रुलाई आवागमनमा सकस नपरोस् भन्ने हिसावले काम गर्दा सहज हुने विज्ञहरुको कथन छ । तर त्यस्ता कुरामा ध्यान नदिएर एकैपटक सबै सडक भत्काएर स्तरोन्नतिको काम थालेका कारण दुई घण्टामा तय गर्न सकिने यात्रा पूरा गर्न पाँच घण्टा सम्म लाग्ने गरेको अवस्था छ । भत्काएको सडकमा सुक्खा याममा धूलो, वर्षा भएको समयमा हिलो र खाल्डाखुल्डी रहनाका साथै निर्माण सामग्री पनि जोगाएर सवारी साधन चलाउनु पर्ने अवस्था छ । सडक निर्माण गर्दा एकातिरको आधा भाग मात्रै भत्काएर काम गरी त्यो पूरा भएपछि मात्र अर्को पट्टिको भागलाई भत्काएर काम गरिएको भए यातायातमा यस्तो सकस हुँदैनथ्यो होला । तर एकै पटक भत्काएर काम सुरु गरेपछि यात्रुले धूलो खाँदै जोखिमपूर्ण यात्रा गर्नु परिरहेको छ भने सबै भन्दा सास्ती सडक आसपासका बस्तीका जनताले ब्यहोर्नु परिरहेको छ । धूलो भएका सडकमा नियन्त्रणका लागि नियमित पानी हालिरहनु पर्नेमा कतैकतै पानी नहाल्ने तथा कतिपय ठाउँमा बढी पानी हालेर हिमाल्य पार्ने गरिएका कारणले पनि अवस्था जटील बनेको यात्रुहरु बताउँछन् । सडक भत्काएर छिट्टै काम गरी सडकको अवस्था तुरुस्त तुल्याउनका लागि सरकारी स्तरबाट कामको अनुगमन गर्ने, छिटोछिटो काम सकाउनका लागि निर्माण कम्पनीलाई दबाब दिने क्रम पनि उति साह्रो चलेको देखिन्न । सडक स्तरोन्नतिका लागि कतिपय योजनामा पर्याप्त कामदारको समेत अभाव रहने गरेको छ । सरकारले काम चाँडै सम्पन्न गर्नका लागि दबाब चाहीँ नदिने, बरु काम सम्पन्नको म्याद मात्रै थप्दै जाने हो भने यस्तो पाराले गर्दा जनताले थप सास्ती भोग्नु पर्ने अवस्था आउन सक्दछ ।
तसर्थ यस्तो भद्रगोल अवस्थामा सडकलाई राखि छाडेर जनतालाई सास्ती पु¥याउने होइन, चाँडै काम पूरा गर्ने तर्फ सक्रियता बढाउन आवश्यक देखिन्छ ।