• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पेट्रोल डिजलको विकल्पमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने भनिए पनि नेपालमा त्यस्ता सवारी साधन चार्ज गर्नकालागि चार्जिंग स्टेशनको निकै अभाव छ । भएका चार्जिंग स्टेशन मध्ये पनि कतिपय ठीक अवस्थामा नरहनाले यात्रुले सास्ती भोग्नु परिरहेको छ ।
एक त आवश्यकताको तुलनामा चार्जिंग स्टेशन निकै कम संख्यामा स्थापना गरिएका छन् । धेरै लामो दूरीसम्म एक पटक चार्ज गरिएको सवारी साधन नचल्ने र वीच वीचमा तिनलाई रोकेर चार्ज गर्नु पर्ने भएकाले यस्ता स्टेशन पर्याप्त संख्यामा स्थापना गर्नु पर्ने आवश्यकता छ । त्यसमाथि भएका मध्ये कतिपय बिग्रेका कारण चार्ज गर्ने आशाले आएका सवारी साधन चालकले निराश बन्नु पर्ने अवस्था छ । मुलुकमा विद्युत उत्पादन बढिरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन दिनु सकारात्मक नै हो । यसले बाहिरबाट महँगोमा आयात गर्नु परिरहेको पेट्रोल,डिजेलको आयातमा कमी ल्याउने भएका कारणले पनि स्वदेशमै उत्पादित ऊर्जाको प्रयोगलाई बढाबा दिनु पक्कै पनि सकारात्मक पक्ष मानिन्छ । तर चार्जिंग स्टेशन अभावकै कारण त्यसका प्रयोगकर्ताहरुलाई हैरानी यहोर्नु पर्ने अवस्थामा चाहिँ सुधारको आवश्यकता छ । चार्ज गरेबापत शुल्क तिरिने भएका कारण यसमाथि गरिने लगानीबाट लाभ पनि लिन नसकिने चाहिँ होईन ।
अहिले जति विद्युतीय सवारी साधन सञ्चालनमा आउन थालेका छन्,तिनको संख्या डिजल पेट्रोलबाट चलने गाडीको तुलनामा निकै कम रहेको छ । सुरुवाती चरणमै चार्जको समस्या भोग्नु पर्ने अवस्था रहने हो भने यसका प्रयोगकर्ता निरुत्साहित नहोलान् भन्न सकिन्न ।