• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मुलुकबाट उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरुको संख्या दिनानुदिन बढ्दो छ । यसले गर्दा स्वदेशमा उच्च शिक्षा अध्यापन गराउँदै आएका क्याम्पसहरुमा विद्यार्थीहरुको संख्या घट्दै गएको छ ।
स्वदेशमा अध्ययन गर्नका लागि एकताका उल्लेख्य संख्यामा विद्यार्थीहरुको आवेदन पर्ने गरेकोमा अहिले निर्धारित सिट पनि खाली नै रहने गरेकोे अवस्था छ । यो नै चिन्ताको विषय हो । विद्यार्थी अभावका कारणले कतिपय शिक्षण संस्था बन्द हुने अवस्थामा पुगेका छन् । यसरी विद्यार्थी बाहिरिनु भनेको गम्भीर चिन्ताको विषय हो । स्वदेशका सरकारी कलेजहरुमा पठनपाठन भन्दा पनि राजनीतिक चलखेल बढी हुनु, बन्द हडतालले गर्दा पढाईमा असर पर्ने गरेका कारणले विद्यार्थीहरु बाहिर जाने क्रम बढेको सरोकारवालाहरुको कथन छ । कतिपय शिक्षक संस्थाहरुमा विद्यार्थीहरु नै तालाबन्दी गर्न उद्दत रहने प्राध्यापकहरुमाथि नै दुव्र्यवहार गर्ने लगायतका अवाञ्छित गतिविधि हुने गरेका छन् ।
शिक्षण संस्थामा विद्यार्थी संगठनहरुले दलगत रुपमा राजनीतिक गर्ने क्रम बढेका कारणले पढ्न चाहने विद्यार्थीको पनि पठन पाठन विथोलिने गरेको अवस्था छ । निर्बाध पठनपाठनका लागि पहिला तदनुकूल वातावरणको आवश्यकता पर्दछ ।
त्यसैले शिक्षा क्षेत्रमा देखिन थालेका यस प्रकारका कमजोरीहरुलाई सुधार गर्न सके मात्र विद्यार्थीहरु पनि आकर्षित हुने छन् । यसका विपरित अहिलेको जस्तो लथालिंग वातावरण नै बनाई राख्ने हो भने विद्यार्थी संख्या अझै नघट्न भन्न सकिन्न ।