नर्मदेव यादव
रुपनी, ३० मंसिर ।
सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले आफुसंग प्रतिशोध साध्न झुठो आरोप लगाएर केही व्यक्तिहरुले सामाजिक संजाल मार्फत भ्रम फैलाएर आप्mनो चरीत्र हत्या गर्न खोजेको बताएका छन् । रुपनी गाउँपालिकामा शनिबार पत्रकार सम्मेलन गर्दै उनले झुठो मुद्दा लगाएर अदालतबाट परमादेश जारी गराएको भनि सामाजिक संजालमा भ्रम फैलाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सामाजिक संजालमा फैलाएको भ्रम जस्तो मोबाइल र पैसा लुटेको आफुमाथि लगाएको आरोप झुठो रहेको दावी गरे ।
“घटना २२ असार २०८० को हो, रुपनी गाउँपालिकाका लेखापाललाई पालिकाको कामको चाँपले रातपारेपछी राजविराज स्थित घर पठाउने क्रममा रुपनी २ स्थित पालिकाको स्कारपिओ दुर्घटना भयो, अध्यक्ष यादवले भने, त्यही घटनालाई बङ्याएर रुपनी १ का राजु जयसवालले आप्mनो सामाजिक संजालमा गाउँपालिकाको बदनाम हुने गरि झुठो भ्रम फैलाएको विषयलाई लिएर २३ असार २०८० मा कार्यालयमा बोलाएर कुरा गर्दा विवाद भएपछि जयसवालको मोबाइल हराएको र उक्त घटनालाई जोडेर डाँका मुद्दामा परमादेश भएको भन्ने कुरा सामाजिक संजालबाटै थाहा भएको छ ।’’
आफुमाथी लगाइएको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिंदै अध्यक्ष यादवले दोषी ठहर भए सजाय भोग्न तयार रहेको बताए ।
उनले गाउँपालिका तथा आफुलाई मुद्दाको परमादेश बारे कुनै जानकारी नआएको स्पष्ट पारे । पालिकामा काम गर्न खोज्दा अख्तियारले अबरोध गर्ने गरेको बताउँदै अध्यक्ष यादवले पालिकाकै केही विकास र समृद्धि विरोधीहरुले यस्तो समस्या सिर्जना गर्दै आएकोले उत्पन्न समस्या न्यूनीकरणमा पत्रकारसंग साथ,सुझाव र सहयोगको लागि आग्रह गरे ।
पत्रकार सम्मेलनमा रुपनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सरोज कुमार यादवलगायतका पालिकाका कर्मचारीहरुको समेतको उपस्थिति रहेको थियो ।