नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय राजविराज १६ बोरियाका विद्यार्थीहरुले आन्दोलनका कार्यक्रमलाई शुक्रबार पनि निरन्तरता दिएका छन् । विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश यादव र प्रधानाध्यापक रामानन्द सुनरैतमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले तेश्रोदिन जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
राजविराज नगरपालिका स्थित शिक्षा शाखामा विद्यार्थीहरुले गरेको तालाबन्दी । फोटो:न्यूज टुडे
माध्यमिक शिक्षा परिक्षा ( एसइई) को आवेदन फारममा दोब्बर शुल्क असुली गरेको भनि विरोध गरेको निहुँमा कक्षा १० मा अध्यनरत विद्यार्थी विकास मण्डल र रोशन साहलाई कुटपिट गरि घाइते बनाएको विरोधमा विद्यार्थीले पीडित विद्यार्थीलाई न्याय चाहियो, कुटपिटमा संलग्न अध्यक्ष र प्रधानाध्यापकमाथि कारबाही गर लगायतका चर्का नारा लगाउँदै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।
विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै कुटपिटमा संलग्नहरुमाथि कारबाहीको माग गरेका छन् ।
विद्यालयमा राष्ट्रिय परीक्षा बोर्डले तोकेको दस्तुरभन्दा दोब्बर लिएकोले विरोध गर्दा अध्यक्ष र प्रधानाध्यापक मिलेर बाहिरबाट मान्छे बोलाएर यादव र साहमाथि कुटपिट गरेको तथा कुटपिटमा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिन आलटाल गरेकोले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्न बाध्य भएको कक्षा १० का विद्यार्थी राज यादवले बताए ।
राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थी परिक्षा दस्तुर रु ५ सय मात्र तोकेको छ, फारम भर्न किन दोब्बर दस्तुर लिनुभएको भनी प्रश्न उठाउँदा विद्यार्थीमाथि कुटपिट गरेको आन्दोलित विद्यार्थी कक्षा ९ का ओमकान्त चौधरीले बताए ।
आवेदन फारम वापत प्रति विद्यार्थी रु १ हजार दस्तुर लिएर विद्यार्थीमाथि आर्थिक शोषण गरेकोले विद्यालयको ज्यादती विरुद्ध बाध्य भएर संघर्षमा उत्रिनु परेको अर्का विद्यार्थी ऋषि मण्डलले बताए ।
आफ्ना सहकर्मीमाथि कुटपिटमा संलग्नमाथि कानुन बमोजिम कारबाही हुनुपर्ने विद्यार्थी हन्टन सुमितले बताए । घाइते विद्यार्थीहरुले न्याय नपाएसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने उनले चेतावनी दिए ।
मंगलबार अध्यक्ष यादव र प्रधानाध्यापक सुनरैतले कार्यालयमा बोलाएर निर्घात कुटपिट गरेको पीडित विद्यार्थीहरुको आरोप छ ।
कुटपिटबाट अनुहार र शरीरको विभिन्न भागमा चोटपटक लागेका विद्यार्थीहरुको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको विद्यार्थीहरुले जानकारी दिए । आन्दोलनरत विद्यार्थीहरुले राजविराज नगरपालिका शिक्षा शाखामा समेत तालाबन्दी गरेका छन् ।