सप्तरीको वोरियास्थित नरेन्द्र मेमोरियल जनता माविका विद्यार्थीमाथि निर्घात कुटपिट भएको विरुद्धमा सि·ो विद्यालयका विद्यार्थीहरु नै आन्दोलनमा उत्रेका छन् ।
प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेतको संलग्नतामा भएको कुटपिटमा उनीहरुमाथि कारवाहीको माग गर्दै राजविराजमा उक्त विद्यालयका विद्यार्थीहरुले नारावाजी सहित प्रदर्शन समेत गरेका छन् । कक्षा १० का छात्र विकास मण्डल र रोशन साहलाई निर्घात कुटेर घाइते बनाएकोले पीडितलाई न्याय र कुटपिटमा संलग्नमाथि कारवाही हुनुपर्ने उनीहरुको माग छ । एसईईको आवेदन फारम भर्ने क्रममा विद्यालयले दोब्बर शुल्क असुली गरेको कुरामा विरोध गरेको आरोपमा उनीहरुमाथि कुटपिट भएको हो । विद्यार्थीहरुले अध्यक्ष र प्रधानाध्यापक मिलेर बाहिरबाट समेत मानिस बोलाएर कुटपिट गराएको भनी आरोप लगाएका छन् । विद्यालयमा पठनपाठनमा विद्यार्थी मैत्री वातावरण हुनु पर्ने हुन्छ । विद्यार्थीमाथि गरिने कुटपिट तथा यातनालाई निषेध गरिएको भएपनि यस प्रकारका अप्रिय घटना हुन छाडेका छैनन भन्ने कुरा यस घटनालाई उदाहरणका रुपमा लिन लिन सकिन्छ ।
विद्यार्थीले त्रासपूर्ण वातावरणमा पढ्न सक्दैनन, यस्तो वातावरणमा उनीहरुको मनमस्तिष्कमा पनि नकारात्मक असर पर्न सक्छ भन्ने कुरालाई ध्यानमा राखेर नै बालमैत्री शिक्षामा जोड दिइएको हो । प्रधानाध्यापकसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेतको संलग्नतामा यस प्रकारका घटना हुन्छन् भने बालबालिकाका लागि विद्यालय नै असुरक्षित स्थल नबन्ला भन्न सकिन्न । त्यसैले विद्यालयका बालबालिकाबाट गल्ती कमजोरी हुन्छन् भने पनि उनीहरुलाई सही मार्ग देखाउने दायित्व पनि शिक्षककै हुन जान्छ । यातना दिएर नै विद्यार्थीलाई ठीक पार्छु भन्ने सोचाई किमार्थ उचित हुन सक्दैन ।