नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय राजविराज १६ बोरियाका विद्यार्थीहरुमाथि भएको कुटपिट विरुद्ध संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् ।
विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश यादव र प्रधानाध्यापक रामानन्द सुनरैतसहित संलग्नहरुमाथि कारबाहीको माग गर्दै राजविराजमा बिहीवार उनीहरु विरोध प्रदर्शनसहित राजविराज नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन् ।
विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु । फोटो: न्यूज टुडे
राजविराज १६ स्थित विद्यालयबाट विभिन्न चर्को नारा जूलूससहित विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले अध्यक्ष यादव र प्रधानाध्यापक सुनरैतको पुतला जलाएपछी राजविराज नगरपालिकाको कार्यालय अगाडि धर्ना बसेको समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादवले बताए ।
कक्षा १० मा अध्यनरत विद्यार्थी विकास मण्डल र रोशन साहलाई कुटपिट गरि घाइते बनाइएकोले पीडित विद्यार्थीलाई न्याय र कुटपिटमा संलग्नहरुलाई कारबाही नभएसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने उनले जानकारी दिए ।
माध्यमिक शिक्षा परिक्षा ( एसइई) को आवेदन फारममा दोब्बर शुल्क असुली गरेको भनि विरोध गरेको निहुँमा उनीहरुलाई विद्यालयमै कुटपिट भएको थियो ।
राजविराज नगरपालिका अगाडि धर्ना बसेका संयुक्त विद्यार्थी संगठन आवद्ध विद्यार्थीहरु । फोटो : न्यूज टुडे
विद्यालयमा राष्ट्रिय परीक्षा बोर्डले तोकेको दस्तुरभन्दा दोब्बर लिएकोले विरोध गर्दा अध्यक्ष र प्रधानाध्यापक मिलेर बाहिरबाट मान्छे बोलाएर यादव र साहमाथि कुटपिट गरेको विद्यार्थीहरुको आरोप छ ।
राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थी परिक्षा दस्तुर रु ५ सय मात्र तोकेको छ, फारम भर्न किन दोब्बर दस्तुर १ हजार लिनुभएको भनी प्रश्न उठाउँदा कुटपिट गरेको कक्षा १० का राज यादवले बताए ।आफ्ना सहकर्मीमाथि कुटपिटमा संलग्नमाथि कानुन बमोजिम कारबाही हुनुपर्ने विद्यार्थीको माग छ ।
कुटपिटबाट अनुहार र शरीरको विभिन्न भागमा चोटपटक लागेका विद्यार्थीहरुको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार पछि घरफर्किएको विद्यार्थीहरुले बताएका छन् ।
आन्दोलनमा विभिन्न पार्टी आवद्ध विद्यार्थी संगठनका पदाधिकारी तथा प्रतिनिधि, पीडित विद्यार्थीहरुको अभिभावकसहित मावि बोरियाका विद्यार्थीहरुको सहभागिता छन् ।