• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्यार्थी कुटपिटको विरुद्धमा संयुक्त विद्यार्थी संगठन आन्दोलनमा जाने 

विद्यार्थी कुटपिटको विरुद्धमा संयुक्त विद्यार्थी संगठन आन्दोलनमा जाने 
न्यूज टुडे
राजविराज, २७ मंसिर ।
नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय राजविराज १६ बोरियाका विद्यार्थीहरुमाथि भएको कुटपिट विरुद्ध संयुक्त विद्यार्थी संगठन आन्दोलनमा जाने भएको छ ।  राजविराजमा बुधबार संयुक्त बैठकबसी  आन्दोलनमा जाने निर्णय गरेको हो ।
विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश यादव र प्रधानाध्यापक रामानन्द सुनरैतसहित संलग्नहरुमाथि कारबाहीको माग गर्दै बिहीवार विरोध प्रदर्शनसहित राजविराज नगरपालिकाको कार्यालयमा धर्ना बस्ने निर्णय भएको बैठकमा सहभागी समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादवले बताए ।
माध्यमिक शिक्षा परिक्षा ( एसइई) को आवेदन फारममा दोब्बर शुल्क असुली गरेको भनि विरोध गरेको निहुँमा कक्षा १० मा अध्यनरत विद्यार्थी विकास मण्डल र रोशन साहलाई कुटपिट गरि घाइते बनाएको विरोधमा पीडित विद्यार्थीलाई न्याय र कुटपिटमा संलग्नहरुलाई कारबाही नभएसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने निर्णय गरिएको उनले जानकारी दिए ।
विद्यालयमा राष्ट्रिय परीक्षा बोर्डले तोकेको दस्तुरभन्दा दोब्बर लिएकोले विरोध गर्दा अध्यक्ष र प्रधानाध्यापक मिलेर बाहिरबाट मान्छे बोलाएर यादव र साहमाथि कुटपिट गरेको विद्यार्थीहरुको आरोप छ ।
राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थी परिक्षा दस्तुर रु ५ सय मात्र तोकेको छ, फारम भर्न किन दोब्बर दस्तुर १ हजार  लिनुभएको भनी प्रश्न उठाउँदा कुटपिट गरेको कक्षा १० का राज यादवले बताए ।
आफ्ना सहकर्मीमाथि कुटपिटमा संलग्नमाथि कानुन बमोजिम कारबाही हुनुपर्ने विद्यार्थी हन्टन सुमितले बताए ।
कुटपिटबाट अनुहार र शरीरको विभिन्न भागमा चोटपटक लागेका विद्यार्थीहरुको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार पछि घरफर्किएको विद्यार्थीहरुले बताएका छन् ।
बैठकमा विभिन्न पार्टी आवद्ध विद्यार्थी संगठनका पदाधिकारी तथा प्रतिनिधि, पीडित विद्यार्थीहरुको अभिभावकसहितका उपस्थिति रहेका थिए ।