• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालनमा आएपछि यात्रुले सस्तो भाडा दरमा यात्रा गर्न पाउने छन् भनि निकै चर्चा भयो । यसै क्रममा मुलुकका केही ठाउँमा अहिले त्यस्ता सवारी साधन सञ्चालनमा पनि आएका छन् । तर तिनले लिने भाडा भने अन्य सार्वजनिक सवारी साधनभन्दा पनि बढी रहेको देखिन्छ ।
तेल नलाग्ने र विद्युतबाट चार्ज गरेर नै चल्न सक्ने ती सवारी साधनमा लागत कम रहने गरेका कारण भाडा पनि सस्तो हुने र यसबाट आम सर्वसाधारणले पनि चर्को भाडा तिर्न बाट राहत पाउने अपेक्षा गरिएको थियो । तर सञ्चालनमा आए लगत्तै उल्टै बढी भाडा असुल्न थालेपछि राहतको बदलामा यात्रुले उल्टै बढी भाडा तिर्नु परिरहेको छ । नियमनकारी निकायले यसका बारेमा चासो नलिएर यसरी जथाभावी भाडा असुल्ने गरिएको हो भने त्यस उपर चासो लिन जरुरी भएको छ । यदि त्यसो होईन भने ती निकायकै जिम्मेवार व्यक्तिको समेत यसमा मिलिभगत छ भनेर आरोप नलाग्ला भन्न सकिन्न । लागत कम भए पनि भाडा पनि सस्तो हुनै पर्दछ । उसै पनि ठूला चाडपर्वका समयमा एकतर्फी यात्रु नभेटिने बहानामा दोब्बर भाडा असुल्दा पनि प्रहरी प्रशासनले ध्यान नदिँदा यात्रुहरु पटक पटक मर्कामा पर्दै आएका छन् ।
अहिले विद्युतीय सवारी साधनमा पनि यसरी बढी भाडा असुल्न थालिएपछि यात्रुमाथि नै अन्याय भईरहेको अवस्था छ । सरोकारवाला निकायले यस प्रति चासो लिन आवश्यक छ ।