• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी युथले  प्रधानमन्त्रीलाई ९ सय ९९ चिट्ठी पठाउने

सप्तरी युथले  प्रधानमन्त्रीलाई ९ सय ९९ चिट्ठी पठाउने
न्यूज टुडे
राजविराज, २६ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य  सुचारु गर्न  माग राखी दुइसतादेखि आन्दोलित सप्तरी युथले तेश्रो चरणको दवावमुलक कार्यक्रम घोषणा गरेको छ । नगरपालिकामा बृहत र्‍याली प्रदर्शनपछि राजविराजमा मंगलबार आयोजित कोणसभा मार्फत प्रधानमन्त्रीलाई ९ सय ९९ चिट्ठी पठाउनेलगायतका सातदिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै कार्यबाहक मेयर इसरत परविन । फोटो: न्यूज टुडे
पहिलो र दोश्रो चरणको आन्दोलनका कार्यक्रम सकेका सप्तरी युथले तेश्रो चरणको आन्दोलन अन्तर्गत सातदिनसम्म राजविराज नगरपालिका अन्तर्गतका टोलहरुमा घरदैलो गरि सुझाव संकलन गरि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)  लाई  ९ सय ९९ वटा चिट्ठी पठाउने संघर्षका कार्यक्रम अगाडि सारेका छन् ।
दशहजार हस्ताक्षरसहित प्रदर्शनमा उत्रिएका सप्तरीका युवाहरू । फोटो: न्यूज टुडे
आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा आयोजित कोणसभालाई सम्बोधन गर्दै राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिइन् । उनले युवाहरुले थालेको आन्दोलन नगर र जिल्लाको विकास र समृद्धिका  लागि भएको भन्दै प्रशंसा गरिन ।  माग पूरा नभएसम्म आन्दोलन रोक्न नहुने जिकिर गर्दै उनले युवाहरुको संघर्षका कार्यक्रममा निरन्तर साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । युवाहरूले उठाएको माग जायज रहेको उल्लेख गर्दै कार्यबाहक मेयर परविनले अविलम्ब माग सम्बोधन गर्न सरकारसंग आग्रह गरिन ।
कोणसभामा बोल्दै सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादव । फोटो : न्यूज टुडे
सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवले शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभए राजमार्ग बन्दसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
उनले दुइहप्तासम्म जारी आन्दोलनको विषयमा यहाँबाट निर्वाचित जनप्रतिनिधि तथा राजनीतिक पार्टीहरुले चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
“शान्तिपुर्ण रुपले समस्याको समाधान होस भन्ने हाम्रो चाहना हो, उनले भने, यसलाई साधारण रुपमा लिन हुँदैन, हामीलाई पनि सडक अबरुद्ध गर्न, गाडीमा आगो लगाउन, बन्द हड्ताल गर्न, ढुङ्गामुढा गर्न आउँछ , त्यो अवस्थासम्म पुग्न नपरोस् । “
 आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले अलपत्र प्रतिष्ठान निर्माण कार्यलाई अविलम्ब सुचारु गर्नुपर्ने माग सप्तरीबासीकै रहेको बताए ।
प्रतिष्ठान निर्माणले सप्तरीको मात्रै होइन, मधेशकै विकास र समृद्धिमा टेवा पुग्ने बताउदै उनले  हाम्रो संघर्षका कार्यक्रममा सर्वसाधारणदेखि समाजसेवि, जनप्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, राजनितिकर्मी, सञ्चारकर्मी लगायतकाले स्वस्फुर्त रुपमा सहयोग पुर्‍याएको भन्दै धन्यवाद व्यक्त गरे । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउदै उनले आगामी दिनमा पनि निरन्तर सहयोगका लागि आग्रह गरे ।
कार्यक्रममा राजविराज नगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष जय नारायण मण्डल, वडा नम्बर २ का अध्यक्ष अरुण कुमार यादव, ७ का अध्यक्ष सुभाषचन्द्र यादव, युवा नेता नवनित झा, मविव क्याम्पसका स्ववियु सभापति रन्जित कुमार यादव लगायतकाले सम्बोधन गरे ।
कार्यक्रमको संचालन सप्तरी युथ नेपालका सदस्य अनिल यादवले गरेको थियो । 
यसअघि दशहजार हस्ताक्षरसहित सयौंको संख्यामा रहेका युवाको समूहले चर्को नारा लगाउदै नगरको विभिन्न भाग परिक्रमा गरेका थिए ।
सप्तरी युथले मंसिर १० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएर आन्दोलन सुरु गरेका थिए । पहिलो चरणको आन्दोलनबाट सुनुवाइ नभएपछि दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सात दिनमा १० हजार हस्ताक्षर संकलन गरेका छन् । निरन्तरको आन्दोलनबाट माग सम्बोधन नभएपछि सातदिन भित्र  ९ सय ९९ वटा चिठ्ठी प्रधानमन्त्रीका लागि पठाइने भएको छ ।
०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म डिपीआर निर्माणबाहेक अन्य काम भएको छैन् ।
सोही विषयलाई लिएर राजविराज १० स्थित प्रतिष्ठान निर्माण स्थलमा स्थानीयहरुले २ महिनादेखि रिले अनशन जारी राखेका छन्  ।