• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

वर्षौंदेखि गिरहतकहाँ काम गर्दा पनि ऋणमुक्त हुन नसकेका हरवा चरवाको पीडा अद्याबधि कायमै छ । कमैया मुक्ति भएर पनि हरवा चरवाको समस्या चाहिँ सुधार हुन नसकेको अवस्थालाई परिवर्तित सन्दर्भमा विचार गर्न आवश्यक छ ।
गरिबीका कारणले नै कोही पनि बाध्यताको शिकार हुने हो । जमीनदार तथा पूँजीपतिले आफ्नो कामकालागि यस्तै गरिब विपन्नलाई केही नगद वा जग्गा कमाउन दिएर आफ्नो नियन्त्रणमा राख्ने गरेको पुरानै प्रथा हो । एक प्रकारले यस्तो अवस्थालाई सामन्ती प्रथा नै मान्न सकिन्छ । मुलुकमा आएको ऐतिहासिक परिवर्तनले पहिला पिँधमा रहेका जनतालाई मुक्ति दिने छ भन्ने अपेक्षा राखिएको थियो । पञ्चायती व्यवस्थापछि आएको बहुदलीय प्रजातान्त्रिक व्यवस्थाले पश्चिम नेपालमा व्याप्त कमैया प्रथालाई अन्त्य ग¥यो । यस्तै प्रकारको समस्याका रुपमा रहेको हरवा चरवा प्रथाको भने अन्त्य भएन । यही कारणले हरवा चरवामा एक प्रकारको असन्तुष्टी कायम रहेको हो । समस्या एकै प्रकारको रहे पनि एकातिरका जनताको समस्या समाधान हुने तर अर्कोतिर रहेको उस्तै प्रकारको समस्यालाई चाहिँ यथावतै राख्ने हो भने समानताको व्यवहार पनि नभएको सन्देश जान्छ, जुन स्वाभाविकै पनि हो । अधिकांश हरवा चरवा भूमिहीन रहेका कारण उनीहरु ऐलानी पर्ति जग्गामा झुप्रो बारेर बसिरहेका छन् । पुस्तौंदेखि बसोबास गर्दै आएका उनीहरुको झुप्रो रहेको जमीनमा उनीहरुकै स्वामित्व कायम होस् भन्नाकालागि सरकारले ध्यान दिनु पर्ने हो ।
भूमिहीनका समस्या समाधानका क्रममा हरवा चरवालाई पनि बसोबासका आधारमा जग्गा उपलब्ध गराउन सक्दा पनि समस्या केही मत्थर हुने थियो होला । यस्ता सबालमा सरकारको नै ध्यानाकर्षणको आवश्यकता छ ।