• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एसइई आवेदन दस्तुरमा मनपर्दी
न्यूज टुडे
राजविराज, २५ मंसिर ।
२०८० सालको माध्यमिक शिक्षा परिक्षा ( एसइई) मा समाबेश हुनका लागि लिइने आवेदन दस्तुरमा विद्यालयहरुले मनपर्दी असुली गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
राष्ट्रिय परिक्षा बोर्डले तोकेको दस्तुरभन्दा दोब्बर लिएर मात्र आवेदन फारम भर्न पाइएको भन्दै विद्यार्थीहरुले गुनासो गरेका हुन् ।
बोर्डको सूचनामा विद्यार्थी परिक्षा दस्तुर रु ५ सय दाखिला गर्नुपर्ने भनिएपनि विद्यालयले रु १ हजारसम्म आफुहरुबाट असुल्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।
“सप्तरीका अधिकाँश विद्यालयहरुले तोकिएको भन्दा बढी परिक्षा आवेदन दस्तुर लिने गरेका छन् , एक अभिभावकले भने, विद्यार्थीमाथी चरम शोषण हुँदा समेत यसतर्फ सरोकारवालाहरुले समेत कुनै चासो लिएको छैन, विद्यार्थीहरु (एसइई) परिक्षाबाट बन्चित हुने त्रासले विद्यालयले मागेजति शुल्क तिर्न बाध्य छन् ।”
आफुखुशी असुल्ने तरिकामाथि नियन्त्रण गरि एसइई परिक्षा दस्तुरमा एकरुपता हुनुपर्ने उनको जोड थियो ।
रुपनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम प्रसाद यादवले एक हजारसम्म दस्तुर लिनु स्वाभाविक नै भएको बताए । परिक्षा दस्तुर ५ सय, फारम दस्तुर रु ५०, मुल एसइई प्रमाणपत्र बापत रु २ सय ५० र रु २ सय विद्यालयको अन्य सहयोग बापत लिएको हुन सक्ने बताउँदै उनले प्रति विद्यार्थी रु १ हजार दस्तुर लिंदा अन्यथा नहुने जिकिर गरे ।
माध्यमिक विद्यालय सितापुर भुर्कीका प्रधानाध्यापक दुर्गानन्द चौधरीले प्रति विद्यार्थी रु ७ सय ७० रुपैयाँ दस्तुर लिएको बताए । उनले विद्यार्थी परिक्षा दस्तुर ५ सय, मुल प्रमाणपत्रको रु २ सय ५० र रु २० फारमको दस्तुर लिएर आवेदन फारम भर्ने गरेको जानकारी दिए । परिक्षा पश्चात् विद्यार्थीहरु विद्यालयभन्दा बाहिर हुने भएकाले मुल प्रमाणपत्र लिनजाँदा राष्ट्रिय परिक्षा बोर्डमा बुझाउनु पर्ने दस्तुर अग्रिम लिने गरेको उनको भनाइ थियो ।
राष्ट्रिय परिक्षा बोर्डले २०८० कार्तिक २४ गतेदेखि  मंसिरमशान्त भित्र प्रति विद्यार्थी परिक्षा दस्तुर रु  ५ सय र सो मिति भित्र रकम दाखिला गर्न नसक्ने विद्यार्थीलाई पौष १ गतेदेखि १५ गतेभित्र विलम्ब शुल्क प्रति विद्यार्थी रु १ हजार लिएर आवेदन फारम भर्ने भराउन सक्ने सूचना प्रकाशित गरि जानकारी गराएको छ । यद्यपि सप्तरीका अधिकांश विद्यालयहरुले तोकिएको समयसीमा भित्र आवेदन फारम भर्दा पनि विद्यार्थीहरुबाट दोब्बर दस्तुर असुल गर्दै आएको जनगुनासो व्यापक रुपमा उठ्ने गरेको छ ।