न्यूज टुडे
राजविराज, २५ मंसिर ।
पाँच महिनादेखि तलव नपाएको भन्दै रुपनी गाउँपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै मंगलबारदेखि गाउँपालिका अगाडि धर्ना बस्ने चेतावनी दिएको हो ।
रुपनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुखसहित मातहतका विभिन्न स्वास्थ्य संस्थाका प्रमुख र वडा सचिबहरुले आइतबार गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै सोमबारसम्म तलवभत्ता उपलब्ध नगरिए मंगलबारदेखि कामकाज ठप्प पारी धर्ना बस्ने चेतावनी दिएका छन् ।
“२०८० श्रावणदेखि तलब नपाउँदा घर चलाउन अति समस्या परिरहेकोले हालसम्मको तलवभत्ता र कार्यालय संचालन खर्च २०८०मंसिर २५ गतेसम्म निकासा हुने व्यवस्था मिलाई दिन अनुरोध गर्दै ज्ञापनपत्रमा भनिएको छ, अन्यथा २०८०मंसिर २६ गतेदेखि सबै वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरु बन्द गरि गाउँपालिकामा आएर धर्ना बस्ने व्यहोरा जानकारी गराइन्छ । “
मासिक रुपमा पाउनुपर्ने तलव,भत्ता नपाएको स्वास्थ्य संस्थाहरुमा अति आबश्यक औषधिहरु आपूर्ति नभएको तथा स्वास्थ्य संस्था संचालन बापत पाउनुपर्ने प्रशासनिक खर्च उपलब्ध नभएको कर्मचारीहरुको दिनचर्या निकै कठिनाइ हुँदै गएको स्वास्थ्यकर्मीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
बैंकबाट लिएको ॠणको किस्ता तिर्न नपाउँदा घरजग्गा लिलाम हुने अबस्थामा पुगेको, विद्यालयमा पढ्ने बालबालिकाहरुको शुल्क तिर्न नपाउँदा विद्यालयहरुबाट दवाब खेप्नु परेको साथै बिरामीहरुबाट गालिगलौज खेप्नु पर्ने अवस्था आएकोले समयमै तलव भत्ता औषधि आपूर्ति तथा प्रशासनिक खर्च उपलब्ध हुने सुनिश्चित नभएकोले संघर्षमा उत्रिन बाध्य भएको ज्ञापनपत्रमा जनाइएको छ ।
२०८०मंसिर २६ देखि आकस्मिक स्वास्थ्य सेवाबाहेक सम्पुर्ण स्वास्थ्य सेवा बन्द गरि स्वास्थ्यको सम्पुर्ण कर्मचारी गाउँपालिका अगाडि धर्ना बस्ने व्यहोरा जानकारीको लागि अनुरोध छ, स्वास्थ्यकर्मीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति गाउँपालिका स्वयम जिम्मेवार हुनेछ ।
कर्मचारीहरुले बुझाएको ज्ञापनपत्रमा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, ६ वटै वडा अध्यक्षहरु, जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिइएको छ ।
आन्तरिक विवादका कारण रुपनी गाउँपालिकाले समयमै गाउँसभा सम्पन्न गर्न नसक्दा कर्मचारीहरुले समयमा तलब भत्ता पाउन सकेको छैन भने जेष्ठ नागरिक, बालबालिका, अपाङ्गलगायतका सामाजिक सुरक्षाभत्ता लाभग्राहीहरु सुविधाबाट बन्चित हुनुपरेको छ ।
यसअघि पालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारीहरुले समेत गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै तलबभत्तासहितका सेवासुविधा उपलब्ध गराउन माग गरेका थिए ।