अचेल विभिन्न अवसरमा विदा दिने प्रचलन निकै बढ्न थालेको छ । संघीय सरकारले महत्वपूर्ण पर्व तथा विशेष अवसरमा विदा दिने बारेमा निर्णय गर्छ नै । यस बाहेक पनि कतिपय अपर्झट परेको अवसरमा पनि विदा दिने गरिएकै छ ।
संघीय सरकारले दिएको विदा बाहेक प्रदेश सरकारले पनि कतिपय अवसरमा आफ्नो क्षेत्रभित्र विदा दिने निर्णय गरेको हुन्छ । कुनै खास पर्व, घटना तथा धर्मसम्प्रदायको उत्सवलाई लक्षित गरी यस प्रकारका विदा दिने गरिएको हुन्छ । प्रदेश सरकार पनि एक प्रकारको सरकारकै रुप भएका कारण उसले गरेको विदाको निर्णय सम्बन्धित प्रदेशभरि लागु हुँदै आएको छ । केन्द्र र प्रदेश बाहेक पनि स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहले समेत अचेल विदा दिन थालेका छन् ।
कुनै विशेष अवसरमा आयोजित मेलालाई लक्षित गरेर पनि विदा दिने गरिएको छ । यसरी तीन तीनवटा सरकारबाट जारी हुने विदाका कारण विद्यालय,सरकारी कार्यालय समेतमा काम रोकिन जाने गरेको छ । विदा दिनु नै हुँदैन भन्ने चाहिँ होईन । तर यसरी जुनसुकै सरकारले जहिले पनि दिने गरेको विदाका कारणले विद्यालयको पठनपाठन देखि सरकारी कार्यालयका कामकाजमाथि पनि अबरोध आउने गरेको छ । उदाहरणकै रुपमा लिने हो भने एक स्थानीय तहले कुनै स्थानीय मेलालाई लक्षित गरी विदा दिँदा अन्य स्थानीय तहका विद्यालयहरु त सञ्चालनमा नै रहने हुन्छन् । एक प्रकारले गणना गर्दा उक्त दिनको विदाका कारणले त्यस पालिका अन्तर्गतका बालवालिकाको पढाई अबरुद्ध हुन जान्छ भने अन्यत्रका विद्यार्थी निर्बाध पठनपाठनमा सहभागी रहेका हुन्छन् ।
विदाका बारेमा एक निश्चित मापदण्ड अपनाएर यसलाई व्यवस्थित गर्न सके यस प्रकारको अवस्थाबाट पार पाउनमा सघाउ पुग्ने अपेक्षा लिन सकिन्छ । विदामाथि विदा थपिरहने हो भने त काम चाहिँ कहिले होला ?