• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विदाले पठनपाठन प्रभावित
न्यूज टुडे
राजविराज, २४ मंसिर ।
आइतबार दिइएको विदाले राजविराज नगरपालिका भित्र संचालित विद्यालयहरुको पठनपाठन प्रभावित भएको छ । एकजना वडा सदस्यको  निधनमा दिइएको विदाले यहाँका २० हजारभन्दा बढी विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको हो ।
नगरपालिकाले वडा नम्बर १० का वडा सदस्य छ्ठु लाल यादवको निधनको शोकमा आइतबार शोक विदा दिंदा विद्यालय पुगेका विद्यार्थीहरु घर फर्कन बाध्य भएका छन् ।
विदामा शिक्षण संस्थालाई नै बन्द गर्ने परिपाटीले हजारौं विद्यार्थीहरुको पठनपाठन प्रभावित हुने गरेको अभिभावकहरुको गुनासो छ ।
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश कुमार यादवले पटकपटक हुने विदाको कारण पठनपाठन प्रभावित हुने गरेको बताए ।
उनले विदाको कारण लक्षित समयसिमामा कोर्ष पूरा नहुँदा जिल्लाको शैक्षिक  अबस्था दिनप्रतिदिन खस्किदै गएको टिप्पणी गरे ।
अध्यक्ष यादवले स्थानीय विदामा विद्यालय संचालन हुने विकल्पको खोजी गर्नुपर्नेमा जोड दिए ।
“कुनै चाडबाड होस वा शोक विदा, पहिले विद्यालयनै बन्द गर्न निर्देशन हुन्छ, अध्यक्ष यादवले भने, विद्यालयमा विदा दिने परिपाटीलाई न्यूनीकरण गर्नु जरुरी छ, यसका लागि विकल्पको खोजी गर्नुपर्छ । “
शोक मनाउनु राम्रो परम्परा भएपनि पठनपाठन नै ठप्प पार्नु ठिक नभएको बताउदै उनलेे विद्यालय संचालनमै राखेर शोक मनाउने कार्यको विकास गर्नुपर्नेमा जोड दिए ।
राजविराज नगरपालिकामा ४२ सामुदायिक विद्यालय र ४४ संस्थागत विद्यालय संचालनमा रहेका छन् । सामुदायिक विद्यालयमा ९ हजार ६ सय २५ र संस्थागत विद्यालयमा १० हजार ५ सय ११ जना गरि २० हजार १ सय ३६ जना विद्यार्थी अध्यनरत रहेको राजविराज नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
राजविराज नगरपालिकाकी उपमेयर इसरत परविनले वडा सदस्य यादवको निधनको शोकमा शोक विज्ञप्ति जारी गर्दै नगरपालिका अतिआबश्यक सेवा बाहेकका मातहतका सम्पुर्ण कार्यालयहरु, शिक्षण संस्थाहरु आइतबार बन्द रहने जानकारी गराएकी थिइन् ।
वडा सदस्य यादवको शनिबार राती ४८ बर्षको उमेरमा निधन भएको थियो ।