• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा हरवाचरवाको प्रदर्शन
न्यूज टुडे
राजविराज, २४ मंसिर ।
हरवाचरवाको लागत प्रमाणीकरण र परिचयपत्र वितरण कार्यको प्रक्रिया तत्काल थाल्नुपर्ने लगायतका ५ सुत्रीय माग राखी राजविराजमा आइतबार हरवाचरवाहरुले प्रदर्शन गरेको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरामा हरवाचरवा अधिकार मञ्च सप्तरीकोले प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापनपत्र बुझाउँदै प्रदर्शन गरेको हो ।
प्रजिअ थापालाई ज्ञापनपत्र बुझाउँदै हरवाचरवा अधिकारकर्मीहरु । फोटो: न्यूज टुडे
मञ्चका जिल्ला अध्यक्ष देवलाल रामको नेतृत्वमा विभिन्न नारालेखिएको प्लेकार्ड र झाकीसहित स्थानीय शिव मन्दिरबाट निकालिएको विरोध र्‍याली प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापनपत्र बुझाउँदै नगर परिक्रमा पश्चात् सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले हरवाचरवाले उठाएको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाए । पुस्तौंदेखि अरुको खेत जोत्ने र गाइबस्तु चराउँदै बाबुबाजेको पालमा लिएको ॠणको व्याज चुक्ताका लागि श्रम गरिरहँदा समेत  सरकारले हरवाचरवाको पीडा नबुझेको भन्दै आक्रोश व्यक्त गरे ।
हरवाचरवाको हक अधिकार सुनिश्चितताको लागि गरिएको शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरुले चेतावनी दिए ।
हरवाचरवा अधिकार मञ्च सप्तरीका अध्यक्ष रामको अध्यक्षतामा आयोजित कोणसभालाई राष्ट्रिय भुमि अधिकार मञ्चका महासचिव लागेन्द्र सदा, पुर्व विधायक असर्फी सदा, दलित सरोकार मञ्चका अध्यक्ष युक्तिलाल मरिक, श्रीपुर्राज सामुदायिक केन्द्रका अध्यक्ष चतुर नारायण चौधरी, दलित जनचेतना संगमका अध्यक्ष रामलखन राम, राष्ट्रिय भुमी अधिकार मञ्च सप्तरीका अध्यक्ष सुक्रेत सदा, हरवाचरवा अधिकार मञ्च डाक्नेश्वरी नगरपालिका अध्यक्ष मधु सदा लगायतकाले सम्बोधन गरे । कार्यक्रमको संचालन श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सामाजिक परिचालक विजुली रामले गरे ।
हरवाचरवाको लागत, प्रमाणीकरण र परिचयपत्र वितरणको प्रक्रिया तत्काल थालनी गर्नुपर्ने, नीति कार्यक्रम र बजेटमा तय गरि हरवाचरवा लक्षित कार्यक्रममा हरवाचरवाको पहुँच सुनिश्चित गर्नुपर्ने, हरवाचरवाको एकिन तथ्यांकका आधारमा भुमी, आवास, शिक्षा, सीप विकास र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्नुपर्ने, प्रदेश र स्थानीय सरकारबाट हुने विपन्न र गरिव लक्षित कार्यक्रममा हरवाचरवालाई प्राथमिकतामा राख्नुपर्नेलगायतको माग उनीहरुको छ ।