• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पहिचान र प्रमाणीकरणको कार्य तत्काल सुरु गर्न हरवाचरवाको माग 

पहिचान र प्रमाणीकरणको कार्य तत्काल सुरु गर्न हरवाचरवाको माग 
न्यूज टुडे
राजविराज, २४ मंसिर ।
हरवाचरवा अधिकार मञ्चले हरवाचरवाको पहिचान र प्रमाणीकरण कार्य तत्काल सुरु गर्नुपर्ने माग अघि सारेको छ । राजविराजमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरवाचरवाहरुको लागत संकलन प्रमाणीकरण र परिचयपत्र वितरण कार्यको थालनी गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय भुमी अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले हरवाचरवा लक्षित कार्यक्रम प्रभावकारी रुपमा संचालनका लागी हरवाचरवाको वास्तविक पहिचान हुनुपर्ने आबश्यक रहेको बताए ।
उनले लागत संकलन नगरी हरवाचरवा लक्षित कार्यक्रम कार्यान्वयनमा ल्याए हरवाचरवाहरुको पहुँच नहुने र टाठाबाठाहरुले मात्र लाभ लिने आशंका व्यक्त गरे ।
 “हाम्रो कठोर आन्दोलनकै दवावमा मधेश प्रदेश सरकारले तथ्यांक संकलनका लागि बजेट व्यवस्था गरेको छ, उनले भने, प्रत्येक जिल्लामा ३० लाखको दरले गरि २ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ, उक्त बजेट लागत संकलन कार्यमा उपयोग हुन्छ भन्ने विश्वास अझै पनि छैन । “
मधेश प्रदेश सरकारले यस आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट वक्तव्य मार्फत हरवाचरवाको लागत संकलन प्रमाणीकरण र परिचयपत्र वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको कुरा आफुहरुले आन्दोलनको उपलब्धिको रुपमा लिएको बताउदै उनले, यसको सार्थक परिणामका लागि प्रदेश सरकारलाई यो कार्यमा हरवाचरवा समुह संगठनको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रदेश सरकारको अगुवाईमा स्थानीय तहको सहयोगमा मधेस प्रदेशका सबै जिल्लामा रहेका हरवाचरवाको लागत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण कार्यको छिटै थालनी हुनुपर्नेमा जोड दिदै उनले त्यसको लागि प्रदेश सरकार, सरोकारवाला मन्त्रालय र निकाय, संचारकर्मी, अधिकारकर्मी र समाजसेवी बुद्धिजीवीहरुलाई निरन्तर सहयोगका लागि आग्रह गरे ।
संगठनको तर्फबाट हरवाचरवाको तथ्यांक तिनै तहको सरकारलाई उपलब्ध गराउँदा स्वीकार नगरेको बताउँदै उनले सरकारी स्तरबाट तथ्यांक संकलन गरि हरवाचरवाले पाउने सेव सुविधा अविलम्ब उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
उनले हरवाचरवाको वास्तविक तथ्यांक नआउँदा र पहिचान नहुँदा नागरिकता लिनबाट बन्चित हुनुपरेको तथा बालबालिकाहरुले सरकारी सुविधा लिन नसक्दा शिक्षा लगायत राज्यबाट पाउने सहयोगबाट टाढा हुनुपरेको गुनासो गरे ।
पत्रकार सम्मेलनमा श्रीपुर्राजका  प्रेम कुमार विश्वकर्माले प्रेस विज्ञप्ति प्रस्तुत गर्दै हरवाचरवाहरुको हक अधिकार सुनिश्चितताको लागि पत्रकारहरुको अहम् भुमिका हुने भएकोले निरन्तर साथसहयोगको अपेक्षा राखे ।
श्रीपुर्राजका सामाजिक परिचालक विजुली रामले संचालन गरेको पत्रकार सम्मेलनमा स्वागत टिम लिडर विनोदानन्द चौधरी गरे ।
हरवाचरवा अधिकार मञ्च सप्तरीका अध्यक्ष  देवलाल रामको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुर नारायण चौधरी, राष्ट्रिय भुमी अधिकार मञ्चका केन्द्रिय सदस्य सुमित्रा खंग लगायतका हरवाचरवा अधिकार मञ्चका अगुवाहरुको उपस्थिति रहेको थियो ।