न्यूज टुडे
राजविराज, २३ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न सप्तरी युथले दवावका लागि थालेको हस्ताक्षर संकलनमा जसपा निकट समाजवादी महिला संघ सप्तरीले समेत सहभागिता जनाएका छन् । जिल्ला अध्यक्ष रमिलादेवी साहको नेतृत्वमा राजविराजमा शनिबार हस्ताक्षर गर्दै उनीहरुले सप्तरी युथको अभियानमा समर्थन जनाएका हुन् ।
उक्त अवसरमा समाजवादी महिला संघ सप्तरीकी उपाध्यक्ष एवम् राजविराज नगरपालिकाकी कार्यपालिका सदस्य मन्जु खड्का, सचिव नितु पंडित, उपसचिव एवम् राजविराज नगरपालिका ५ की वडा सदस्य आशा कुमारी तामाङ, कोषाध्यक्ष उषा देव, सदस्य आशा साह, सावित्री पंडित, आशा साह,ममता दास,शोभा देव लगायतका समाजवादी महिला संघ आवद्ध महिला नेत्रीहरुले हस्ताक्षर गरेकी थिइन् ।
निर्माण कार्य अविलम्ब सुरु गर्नुपर्ने माग गर्दै आन्दोलित सप्तरी युथ नेपालले बुधबारदेखि थालेको सात दिने हस्ताक्षर अभियानमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, संचारकर्मी विभिन्न संघसंस्थाका प्रतिनिध लगायतका विभिन्न पेशा व्यवसायीहरुले समर्थन गरेका छन् ।
अभियानको राजविराज नगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष जय नारायण मण्डलले पहिलो हस्ताक्षर गरेर सुरु गरेको अभियानमा कार्यबाहक मेयर इसरत परविन, पुर्व मेयर शम्भु प्रसाद यादव, उपमेयर साधाना झालगायतका जनप्रतिनिधिहरुले समेत हस्ताक्षर गरेको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए ।
पहिलो चरणको शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभएपछि दोश्रो चरणको संघर्षका कार्यक्रम सुरु गरेको उनले जानकारी दिए । ” हामीले दोश्रो चरणमा सात दिने हस्ताक्षर अभियान सुरु गरेका छौं, संयोजक यादवले भने, राजविराज नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष जयनारायण मण्डलले हस्ताक्षर गरेपछि अभियानको सुभारम्भ भएको छ ।”
अभियान अन्तर्गत शनिबार दिउँसोसम्म मात्रै ७ हजार भन्दा बढी व्यक्तिको हस्ताक्षर संकलन भइसकेको सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवले बताए । “प्रतिष्ठान निर्माणले सप्तरीको मात्रै होइन, मधेशकै विकास र समृद्धिमा टेवा पुग्नेछ’ कार्यबाहक अध्यक्ष यादवले भने, ‘त्यसैले हाम्रो हस्ताक्षर अभियानमा सर्वसाधारणदेखि समाजसेवि, जनप्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, राजनितिकर्मी, सञ्चारकर्मी लगायतकाले स्वस्फुर्त रुपमा सघाइरहेका छन् ।”
आन्दोलनका कार्यक्रम अन्तर्गत सात दिनमा १० हजार हस्ताक्षर संकलन गर्ने र त्यसपछि ९ सय ९९ वटा चिठ्ठी प्रधानमन्त्रीका लागि पठाइने भएको छ । सप्तरी युथले मंसिर १० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएर पहिलो चरणको आन्दोलन सुरु गरेका थिए ।
०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म डिपीआर निर्माणबाहेक अन्य काम भएको छैन् ।
सोही विषयलाई लिएर राजविराज १० स्थित प्रतिष्ठान निर्माण स्थलमा स्थानीयहरुले दुई महिनादेखि रिले अनशन जारी राखेका छन् ।