राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम अघि बढेन भनि अहिले आन्दोलनै चलिरहेको छ । निर्माण स्थल बिरौलमा रिले अनसन थालेको दुई महिना पुग्न केही दिन मात्र बाँकी छ भने राजविराजमा पनि सप्तरी यूथ नेपालले १० हजार पु¥याउने गरी हस्ताक्षर अभियान थालेको छ ।
उक्त संस्थाले यस अघि पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन थालेको हो । यी दुबै आन्दोलनमा समर्थन जनाउनेको कमी पनि छैन । विभिन्न पार्टीका नेतादेखि मन्त्रीसम्मले यसप्रति समर्थन जनाएका नै छन् । तर पनि काम चाहिँ सुचारु हुन सकिरहेको छैन । त्यसैले आन्दोलन जारी छ । बाहिरी रुपमा हेर्दा अहिले सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले बरिष्ठ गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाउँमा बन्ने भनिएको प्रतिष्ठानमा असहयोग गर्नु पर्ने कुनै कारण देखिन्न । माओवादीहरुले त सिंहलाई आफ्ना गुरुकै रुपमा स्वीकार गरेका कारणले पनि प्रतिष्ठानको निर्माण हुँदा उनीहरुलाई खुशी नै लाग्नु पर्ने हो । त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा(एमाले) ले पनि प्रतिष्ठान निर्माणमा असहयोग गर्नु पर्ने आवश्यकता यस कारण पनि छैन किनभने सोही पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै यसको निर्माणको भच्र्युअल माध्यमबाट शिलान्यास गरेका हुन् । आफैंले शिलान्यास गरेको प्रतिष्ठानको निर्माण रोकियोस् भन्ने कसको पो चाहना होला र ? वर्तमान सरकारकै एक घटक तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री रहेका समयमा उनकै बढी पहलका कारण प्रतिष्ठान निर्माणको निर्णय भएको हो । यसै गरी जनमत पार्टीका वर्तमान अध्यक्ष डा.सिके राउत यसै क्षेत्रबाट वर्तमानमा प्रतिनिधिसभामा प्रतिनिधित्वव गर्दै आएका कारण उनले असहयोग गर्ने सबालै उठ्दैन । आफ्नै क्षेत्रमा प्रतिष्ठान बन्दा उनलाई खुशी नै लाग्नु पर्ने हो ।
यसैगरी सत्ता घटककै लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले त रिले अनसन स्थल बिरोलमा पुगेरै ऐक्यबद्धता जनाईसकेका कारण उक्त पार्टीले किन असहयोग गर्ला र ? सत्ताकै अर्को घटक नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले समेत अनसन स्थल पुगेर समर्थन जनाएकै हुन् । यस्तै संसदको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसले आफ्नालागि सबैभन्दा बलियो जनमतको आधारभूमि मधेशलाई नै मान्दै आएको छ । यस कारण पनि मधेशवादको उद्गम भूमिका रुपमा रहेको सप्तरीमा प्रतिष्ठान निर्माण नहोस् भनि उसले व्यवधान पु¥याउनु त परको कुरा यस्तो सोच्ला भन्ने सम्म पनि पत्याउन सहज छैन । फेरि पनि निर्माण कार्य सुचारु नभई आन्दोलन जारी नै रहेका कारण यस प्रति सबै राजनीतिक दलले ध्यान पु¥याउनै पर्दछ ।