• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी युथले थालेको हस्ताक्षर अभियानमा पुर्वमेयर यादवको ऎक्यवध्दता 

सप्तरी युथले थालेको हस्ताक्षर अभियानमा पुर्वमेयर यादवको ऎक्यवध्दता 
न्यूज टुडे

राजविराज, २२ मंसिर ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य  सुचारु गर्न सप्तरी युथले दवावका लागि थालेको हस्ताक्षर संकलनमा राजविराज नगरपालिका पुर्व मेयर शम्भु प्रसाद यादवले ऎक्यावध्दता जनाएका छन् ।  राजविराजमा शुक्रबार हस्ताक्षर गर्दै यादवले सप्तरी युथको अभियानमा समर्थन जनाएका हुन्  ।

सप्तरी युथको आन्दोलनमा ऎक्यवध्दता जनाउन पुगेका पुर्व मेयर यादव । फोटो : न्यूज टुडे

 प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुरु गर्नुपर्ने माग गर्दै आन्दोलित सप्तरी युथ नेपालले  बुधबारदेखि सात दिने हस्ताक्षर अभियान थालेका छन् ।

अभियानको राजविराज नगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष जय नारायण मण्डलले पहिलो हस्ताक्षर गरेर सुरु गरेको अभियानमा कार्यबाहक मेयर इसरत परविनलगायतका जनप्रतिनिधिहरुले समेत हस्ताक्षर गरेको सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवले बताए । पहिलो चरणको शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभएपछि दोश्रो चरणको संघर्षका कार्यक्रम सुरु गरेको उनले जानकारी दिए । ” हामीले दोश्रो चरणमा सात दिने हस्ताक्षर अभियान सुरु गरेका छौं, उनले भने, राजविराज नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष जयनारायण मण्डलले हस्ताक्षर गरेपछि अभियानको सुभारम्भ भएको छ ।”

अभियान अन्तर्गत शुक्रबार दिउँसोसम्म मात्रै ५ हजार भन्दा बढी व्यक्तिको हस्ताक्षर संकलन भइसकेको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए । “प्रतिष्ठान निर्माणले सप्तरीको मात्रै होइन, मधेशकै विकास र समृद्धिमा टेवा पुग्नेछ’ उनले भने, ‘त्यसैले हाम्रो हस्ताक्षर अभियानमा सर्वसाधारणदेखि समाजसेवि, जनप्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, राजनितिकर्मी, सञ्चारकर्मी लगायतकाले स्वस्फुर्त रुपमा सघाइरहेका छन् ।”

 आन्दोलनका कार्यक्रम अन्तर्गत सात दिनमा १० हजार हस्ताक्षर संकलन गर्ने र त्यसपछि ९ सय ९९ वटा चिठ्ठी प्रधानमन्त्रीका लागि पठाइने भएको छ ।  सप्तरी युथले मंसिर १० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएर पहिलो चरणको आन्दोलन सुरु गरेका थिए ।

०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म डिपीआर निर्माणबाहेक अन्य काम भएको छैन् ।

सोही विषयलाई लिएर राजविराज १० स्थित प्रतिष्ठान निर्माण स्थलमा स्थानीयहरुले डेढ महिनादेखि रिले अनशन जारी राखेका छन्  ।