• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उपराष्ट्रपति र महासचिव सरवर बीच शिष्टाचार भेट

उपराष्ट्रपति र महासचिव सरवर बीच शिष्टाचार भेट
न्यूज टुडे
राजविराज, २१ मंसिर ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादव र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव  मोहम्मद गुलाम सरवर  विच शिष्टाचार भेटघाट भएको छ । लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा बिहिवार शिष्टाचार भेटघाट भएको हो ।
भेटघाटका क्रममा उपराष्ट्रपति यादव र महासचिव सरवरले बधाई तथा शुभकामना आदानप्रदानपछि सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग र समझदारीबाट संगठनले गतिशिलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले नेपाल सार्क वडापत्रका अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिवद्ध रहँदै आएको बताउँदै दक्षिण एशियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवम् सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम बन्न सक्ने बताए । “दक्षिण एशियाली क्षेत्रका जनताको आशा यस क्षेत्रीय संगठनको प्रभावकारितामा रहेको छ ’ उनले भने, ‘तसर्थ, सदस्य राष्ट्रहरुले यस क्षेत्रीय संगठनलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नु पर्दछ । “
उपराष्ट्रपति यादवले १९औं सार्क शिखर सम्मेलन आयोजना गर्नमा भएको ढिलाइ र अन्य महत्वपूर्ण बैठकहरु समेत हुन नसकेको अवस्थाले सार्कको कार्यमा असर परेकोमा चिन्ता व्यक्त गरे । उनले सार्क सदस्य राष्ट्रहरुले अवरुद्ध शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुटाउने विश्वास पनि व्यक्त गरे । ‘”सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यवद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रुपमा प्रतिबद्ध छ ’ उनले भने, ‘सदस्य राष्ट्रहरुले सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेमा म आशावादी छु । “
उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा महासचिवको विचार र योजनाप्रति धन्यवाद दिँदै महासचिवले आफ्नो सक्षम नेतृत्वबाट सार्क प्रक्रियालाई थप सक्रिय बनाउन र यस क्षेत्रले भोगिरहेका चुनौतीहरुको सामना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास पनि व्यक्त गरे ।
भेटघाटमा सार्कका नवनियुक्त महासचिव मोहम्मद गुलाम सरवरले सदस्य राष्ट्रहरुको संयुक्त पहलमै सार्क अगाडि बढ्ने बताए । ” म सबै सदस्य राष्ट्रहरुको भ्रमण गरी सार्कलाई अगाडि बढाउन सक्दो प्रयत्न गर्नेछु ’ उनले भने,‘सार्कलाई अगाडि बढाउन नेपाल र नेपाली जनताको प्रतिवद्धताप्रति म आभार प्रकट गर्दछु।”