नेकपा विप्लव सप्तरीका नेताकार्यकर्ताद्वारा राजविराजमा बिहीवार विरोध प्रदर्शन गरेको छ ।
महासचिव नेत्र विक्रम चन्द (विप्लव) नेता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)सहितका शिर्ष नेताहरूको नाममा पक्राउ पुर्जी जारी गरेको विरुद्धमा उनीहरुले प्रदर्शन गरेको हो ।
नेकपा विप्लव सप्तरीका नेताकार्यकर्ताको विरोध प्रदर्शनमा तैनाथ सुरक्षाकर्मीहरु । फोटो: न्यूज टुडे
राजरंगशालाबाट पार्टीका जिल्ला इन्चार्ज रामनाथ सिको नेतृत्वमा महासचिव विप्लव, नेता प्रकाण्ड सहितका नेताहरुमाथि जारी पक्राउ पुर्जी खारेज गर, नेपाल सरकार र पार्टी विच भएको तीन बुंदे सहमति कार्यान्वयन गर, काठमाडौंका न्यायाधीश कमल गिरि मुर्दावाद, नवजनवादी क्रान्ति जिन्दावाद लगायतका विभिन्न नारा लगाउदै निकालिएको विरोध जूलूस नगरको विभिन्न भाग परिक्रमा गरि दशन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले अदालतले सरकार र पार्टी विच भएको तीन बुंदे सहमति विपरीत पुवग्राही ढंगले पक्राउ पुर्जी जारी गरेको भन्दै आक्रोश व्यक्त गरे । नेताहरुको नाममा जारी पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गर्दै उनीहरुले शान्तिपुर्ण संघर्षबाट सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । अदालतको आदेशले देशलाई द्वन्द तर्फ धकेल्न सहयोग पुर्याएको बताउदै बक्ताहरुले देशमा दिगो शान्ति स्थापनाका लागी पार्टीसंग भएको तीन बुंदे सहमति कार्यान्वयनमा जोड दिए ।
जिल्ला सेक्रेटरी होक्कान सिको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला इन्चार्ज रामनाथ सि,डिसिएम सोनामी सि, रामआशिष सिलगायतकाले सम्बोधन गरे ।
काठमाडौ जिल्ला अदालतले २०७६ पुसको मुद्दा व्यँताउँदै सोमबार नेकपा विप्लवका महासचिव विप्लव, नेता प्रकाण्ड, माईला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
तीन बुंदे सहमति विपरीत आदेश जारी भएको विरुद्धमा नेकपा विप्लवले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ३ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
कार्यक्रम अन्तर्गत २०८० मंसिर १९ गते देशव्यापी मसाल जूलूस प्रदर्शन, २० गते जिल्ला अदालत काठमाडौका न्यायाधीशको पुतलादहन गर्ने र २१ गते विरोध प्रदर्शन सहित कोणसभा आयोजना गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले बुधबार सप्तरी जिल्ला अदालत राजविराज अगाडि न्यायाधीश कमल गिरिको पुतला दहन, मंगलबार खडक नगरपालिका ५ स्थित खरचुहिया बजारमा मसाल जुलुस प्रदर्शन गरेका थिए ।