• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

व्यापार घाटा बढेको भनि सरोकारवालाहरुले चिन्ता व्यक्त गरिरहेको भए पनि यसलाई न्यूनीकरण गर्नेतर्फ सरकारले सुहाउँदो नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।
कागजी रुपमा यस प्रकारका कार्यक्रम ल्याईएको भए पनि व्यवहारतः त्यसको उपलब्धि उल्लेखनीय रहेको देखिँदैन । यो वास्तविकता नै हो । आर्थिक मन्दी आएको, अर्थतन्त्र कमजोर बन्दै गएको भनि सर्वत्र चिन्ता व्यक्त गरिन थालेको छ । नियालेर हेर्ने हो भने वास्तविकता पनि त्यही नै हो । मुलुकमा उत्पादनको स्तर सन्तोषजनक नरहेको र यही कारणले परनिर्भरता बढेको वास्तविकता कसैबाट लुकेको छैन । यस प्रकारको विषम परिस्थितिमा बाहिरबाट सामान आयात गर्ने भन्दा पनि स्वदेशमा नै आवश्यकताका वस्तु उत्पादन तर्फ नसोच्ने हो भने व्यापार घाटा सन्तुलनमा आउन नसक्ने निश्चित नै छ । स्वदेशमा उपलब्ध स्रोत साधनको अधिकतम उपयोगकालागि तिनमा आधारित उद्योग स्थापना गर्ने, कृषि उत्पादन बढाउन जोड दिने तथा यथासक्य स्वदेशी उत्पादनमाथि नै निर्भर रहने वानी बसाल्न आवश्यक छ । प्रकृतिले हामीलाई धेरै प्रकारका सम्पदा उपहारमा दिएको छ । तर तिनको पहिचान तथा अधिकतम उपयोग गर्नेतर्फ सोच्नु भन्दा पनि बाहिरबाट त्यस्तै तयारी वस्तु आयात गरी आवश्यकता पूरा गर्ने प्रबृत्ति बढेर गएको छ ।
उपभोगवादी यस प्रकारको व्यवहारले मुलुकमा समृध्दि आउन समस्या हुने नै भयो । त्यसैले उपभोगका विषयमा मात्रै एकतर्फी चिन्तनले मुलुक बन्छ भन्न सकिन्न । यसकालागि स्वदेशी उत्पादन बढाउनेतिर नै सोच्नु पर्ने हुन्छ । आयात प्रतिष्थापन गर्ने खालका उद्योगको स्थापना तथा कृषिमाथि विशेष ध्यान दिन सक्दा मात्र विदेशी मुद्रा सञ्चितिको स्तरमा पनि सुधार आउन सक्नेछ ।