• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्यालयहरुलाई दिवा खाजा बापत मनपर्दी भुक्तानी

विद्यालयहरुलाई दिवा खाजा बापत मनपर्दी भुक्तानी
न्यूज टुडे
राजविराज, २० मंसिर ।
विद्यालयहरुलाई दिवा खाजा बापत भुक्तानी दिइने रकममा राजविराज नगरपालिकाले मनपर्दी गरेको खुलासा भएको छ ।  नगरपालिकाले कार्यक्रम कार्यान्वयन निर्देशिका विपरीत विद्यालयलाई दिइने दिवा खाजामा मनपर्दी गरेको पाइएको हो  ।
विभिन्न सामुदायिक विद्यालयहरुलाई तोकिएको मापदण्ड भन्दा ८ लाख ६२ हजार ३ सय ३५ रुपैयाँ बढी नगरपालिकाले गरेको भुक्तानी रकम महालेखा परिक्षक प्रतिबेदन २०७९ ले बेरुजु ठहर गरेको छ ।
महालेखाले बढी भुक्तानी दिएको रकम  असुल गरि संघीय संचित कोषमा दाखिला गर्न नगरपालिकालाई निर्देशन गरेको छ ।
प्रतिबेदन अनुसार राष्ट्रिय आधारभुत विद्यालय डुमरी शिवथानलाई रु ६४ हजार ३ सय ९५, केअ मावि राजविराजलाई रु ७९ हजार ३ सय  ६५, आधारभुत विद्यालय गढिया मलेठलाई रु ४९ हजार १ सय ४०, मदरसा रहमानिया दारुल करान जगदारीलाई रु १३ हजार ६५, मदरसा इस्लामीया जेलहरीलाई रु १ लाख ३२ हजार ३ सय ९०, आधारभुत मावि मटिगढीलाई रु ६७ हजार ३ सय ७०, झल्हीलाई रु१० हजार २ सय ६०,दमावतीलाई रु १ लाख ६५ हजार ८५ , बेशीटोललाई रु ११ हजार २५, पिपराही विषहरियालाई रु १ लाख ७० हजार ९ सय ७० र मुसहर्निया भरुवालाई रु ९० हजार २ सय ७० बढी भुक्तानी दिएको छ ।
“कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७८/०७९ को दफा २.७.११.१ बमोजिम बालविकास देखि कक्षा ५ सम्म अध्यायनरत सामुदायिक विद्यालयका बालबालिकाहरुका लागि प्रति विद्यार्थी अधिकतम हाजिरीको आधारमा १८० दिनसम्म दिवा खाजा दिन सक्ने देखिन्छ, प्रतिबेदनमा भनिएको छ, यस पालिकाले उल्लेखित विभिन्न विद्यालयहरुलाई दिवा खाजा वापतको रकम भुक्तानी गर्दा १८० दिन भन्दा बढी दिनको रकम भुक्तान गरेको देखिँदा सो रकम सम्बन्धित विद्यालयबाट असुल गरि संघीय संचित कोषमा दाखिला गर्नुपर्छ । “
राजविराज नगरपालिकाका सामुदायिक विद्यालयहरुलाई तोकिएको भन्दा बढी दिनको दिवा खाजा बापतको भुक्तानी गरेको तथ्यांक देखिएपनि विद्यार्थीहरुले दिवा खाजाबाट बन्चित हुनुपरेको गुनासो सुनाउने गरेका छन् । कमाउने मनसायले नगरपालिकाका कर्मचारी र विद्यालयकै मिलोमतोमा कार्यक्रम कार्यान्वयन निर्देशिकालाई अटेर गर्ने प्रवृत्तिको विकास भएको स्थानीयहरु बताउँछन् ।