• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज नगरपालिकाले विकास निर्माणका विभिन्न योजनाहरुका कामलाई अधि बढाएको छ। यसरी सञ्चालन भएका योजनाहरू मध्ये कतिपय समय वितेर पनि पूरा हुन सकेका छैनन् । त्यस्ता योजना शिघ्र सम्पन्न होउन् भन्ने नगरवासीको चाहना रहनु स्वाभाविकै पनि हो।
नयाँ योजनाहरूलाई पनि समय सीमाभित्र पूरा गर्न सकियो र तिनमा गुणस्तरीयता रह्यो भने जनताले पक्कै पनि विकासको प्रत्याभूति पाउने छन्। यसरी सञ्चालन गरिएका कतिपय योजना नगरवासीको स्वास्थ्यसित पनि जोडिएका हुन सक्छन् । यसकालागि नगर क्षेत्रमा बिक्री हुनेगरेका सागसब्जीदेखि माछामासु समेत स्वस्थ्यकर रहनु पर्ने हुन्छ । विशेषतः राजविराजमा व्यवस्थित वद्यशालाको अहिले पनि अभाव छ । नगरको मुटु नै मानिने जनआन्दोलन चौकदेखि पश्चिमतर्फको सिरहा रोड खण्डमा सडकमै झुण्ड्याएर वेचिने गरेको मासुलाई हेर्ने हो भने यो व्यवसाय कति अव्यवास्थित रूपले चलिरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ। सडकको छेउमा धूलैधुलोले घेरिएको, झिंगा भन्किरहेको अवस्थामा बेचिने गरेको खसीको मासु कतिको अवस्थ्यकर होला भन्ने कुराको अनुमान लगाउन गाह्रो नपर्ला।
यसरी बिक्री गरिने मासुको विभिन्न प्रकृया पूरा गरेर मात्र बेच्ने पाइने यस सम्बन्धि ऐनमा नै उल्लेख रहेको पाइन्छ । यसकालागि नगरपालिका, पशु सेवा कार्यालय तथा अन्य सरोकारवाला पक्ष समेतको समन्वयमा मापदण्ड अनुसारको व्यवस्थित पशु वधशालामा मात्र मासु बेच्ने व्यवस्था मिलाउनु पर्ने आवश्यकता छ। छ बेलाबखत पशुबधशालाका विषयमा कुरा उठ्ने गरेको भएपनि त्यसको कार्यान्वयनको पक्ष फितलो देखिने गरेको छ। जनताको स्वास्थ्यसित जोडिएको यस विषयलाई गम्भीरताका साथ लिनु जरूरी छ।