न्यूज टुडे
राजविराज, १९ मंसिर ।
राजविराज नगरपालिकाले असक्षम ठहर गरि कामबाट हटाइएको नगरपालिकाको लेखाप्रमुख सत्रुधनलाल दासबाटै कामकाज हुने गरेको पाइएको छ । कार्यपालिकाको निर्णयबाट कामबाट हटाउने र अर्को लेखाअधिकृत माग गर्ने निर्णय भएपनि उनको ठाउँमा अर्को लेखाअधिकृतको व्यवस्था नभएकाले दासबाटै कामकाज हुने गरेको हो ।
लेखापाल दासको लापरबाहीले करोडौं रकम फ्रीज गरेकाले उनलाई हटाएर अर्को लेखाअधिकृत माग गर्ने बोर्ड बैठकको निर्णय भएपनि अर्को लेखा अधिकृतको व्यवस्था नहुन्जेलसम्म उनैलाई काममा लगाइएको राजविराज नगरपालिकाका प्रबक्ता जयनारायण मण्डलले बताए ।
लेखापाल दासले शसर्त अनुदानको बजेट फ्रीज गरेको तथा जनता आवास कार्यक्रमलगायतका विभिन्न योजनाको सम्पन्न कामको १६ करोड भुक्तानी नगरेको साथै कार्यपालिकालाई छलेर जानकारीसम्म नगराएकोले आफ्नो जिम्मेवारीप्रति जवाफदेही नदेखिएकोले उनलाई कामबाट हटाउने निर्णय गरिएको उनले जानकारी दिए ।
लेखापाल दासको कम्जोर लेखा व्यबस्थापन र लापरबाहीका कारण सम्पन्न कामको समेत बेरुजु हुने गरेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन् । काम लिएर जाँदा लेखापाल दासले झर्को मान्ने र रुखो व्यवहार देखाउने गरेको उनीहरु बताउँछन् ।