न्यूज टुडे
राजविराज, १९ मंसिर ।
मिटर व्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितिले राजविराजमा मंगलबार विरोध प्रदर्शन गरेको छ । जिल्ला समिति सप्तरीद्वारा विभिन्न ६ सुत्रीय माग राखी विरोध र्याली प्रदर्शन तथा कोणसभा आयोजना गरेको हो ।
स्थानीय राजरंगशालाबाट जिल्ला समिति सप्तरीका अध्यक्ष राम कुमार चौधरीको नेतृत्वमा सिडिओ कार्यालयमा हुने दलाली बन्द गर, मिटर व्याजी पीडितलाई न्याय दे लगायतका विभिन्न चर्को नारा लगाउँदै निकालिएको विरोध र्याली नगरको विभिन्न स्थान परिक्रमा गरि प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापनपत्र बुझाएपछि पुनः सोही ठाउँमा पुगि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले विगतका सहमतिबाट सरकार पक्षबाट धोका भएपछि यसपटक हामी निर्णायक संघर्षमा उत्रिन बाध्य भएको बताए ।
सरकारी पक्षबाट विगतको जस्तो निकृष्ट धोका नहुने विश्वास व्यक्त गर्दै उनीहरुले विद्यमान समस्यालाई सदाको लागि अन्त्य नगरेसम्म संघर्षको कार्यक्रम जारी राख्ने उद्घोष गरे । बक्ताहरुले शान्तिपुर्ण संघर्षबाट माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
जिल्ला अध्यक्ष चौधरीको अध्यक्षतामा आयोजित कोणसभालाई केन्द्रिय अध्यक्ष अबधेश कुश्वाहा, केन्द्रिय सदस्य पुनम महतो, लघुवित्त पीडित संघर्ष समितिका केन्द्रिय सदस्य धनिकलाल चौधरी, राजनीतिककर्मी टिकालक्ष्मी चौधरी, जिल्ला वरिष्ठ उपाध्यक्ष झवर साह, महिला उपाध्यक्ष अनिता चौधरीलगायतकाले सम्बोधन गरे ।
कार्यक्रमको संचालन जिल्ला सदस्य विजय चौधरीले गरेका थिए ।
मिटर व्याजसंग सम्बन्धित सम्पुर्ण फर्जी लिखित( तमसुक, दृष्टिबन्धक रजिष्ट्रेशन( छिनुवा) पास, चेक बाउन्स आदि ) मन्त्री परिषद् स्तरीय निर्णयबाट अबैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, मुलकी संहिता सम्बन्धि केही नेपाल ऎनलाई संशोधन गर्न बनेको विधेयक मस्यौदा तत्काल संघर्ष समिति र पिडितको जानकारीमा ल्याउनुपर्ने साथै पीडितसंग छलफल गर्दै समयसिमा तोकेर फास्ट ट्र्याकमा नयाँ कानुन जारी गर्नुपर्ने, नयाँ कानुन लागू नभएसम्म फर्जी लिखितका आधारमा मिटरव्याजीसंग सम्बन्धित मुद्दाको दर्ता तथा सम्पुर्ण अदालती प्रक्रिया स्थगित गर्नुपर्ने र फैसला भइसकेका मुद्दाहरुको पुनरावलोकन गर्नुपर्ने साथै फर्जी लिखितका आधारमा पक्राउ परेका पीडितहरुको स- सम्मान रिहाइ गर्नुपर्ने उनीहरुको माग छ ।
यसैगरी अनुचित लेनदेन ( मिटर व्यज) जाँचबुझ आयोग मार्फत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका र दर्ता हुन आउने मिटर व्याजसंग सम्बन्धित निवेदनका आधारमा साहु- महाजनलाई तत्काल पक्राउ गरि उनीहरुको सम्पत्ति छानवीन गर्नुपर्ने, साहु- महाजनद्वारा भएका मिटरब्याजसंग सम्बन्धित हत्या, दुर्व्यवहार, महिलामाथि हुने ज्यादती तथा यौन हिंसा तथा मानवअधिकार उल्लंघनका अन्य घटनाको गम्भीर छानबिन गर्दै कारबाही गर्नुपर्ने तथा पीडितलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने , पीडितले गैरकानुनी व्याजदरमा ॠण लिनुपर्ने कारणको पहिचान गर्दै शोषित तथा उत्पीडित वर्ग एवम् समुदाय साथै उधमी तथा व्यवसायी लक्षित न्यायपुर्ण आर्थिक कारोबार सुनिश्चित गर्न सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउनुपर्ने माग समितिको छ ।