• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको विषहरियास्थित महावीर माविमा वालवालिकालाई दिने गरिएको दिवा खाजा बन्द भएको छ । दिवा खाजा खुवाउने जिम्मेवारी पाएका शिक्षकहरुको फितलो व्यवस्थापनका कारण त्यहाँ अध्ययनरत वालवालिका दिवाखाजाबाट बञ्चित भएका हुन् ।
विद्यालयका प्रधानाध्यापकलाई आर्थिक कारोबारको अधिकार नदिईएको र खाजाको व्यवस्थापनको जिम्मेवारी पाएका शिक्षकले प्रधानाध्यापकसित समन्वय समेत नगर्ने गरेका कारण यस्तो अवस्था आएको हो । खाजामा यसरी अनियमितता रहने गरेको कुरा विषहरियाको यस विद्यालयमा मात्र होईन । जिल्लाका अन्य कतिपय विद्यालयमा पनि यस प्रकारको गुनासो सुनिन्छ । वालवालिका उसै पनि शिक्षकहरुसित डराउने र विरोध गर्न नसक्ने भएका कारण कतै तोकिएको अनुसारको खाजा नदिएर मुरही चिउराका भरमा टार्ने,कतै त्यो पनि नदिने भनि आरोप लाग्ने गरेको छ । हावा नचली पात हल्लिँदैन भने झैं यसरी आरोप लाग्नुको पछाडि कमजारी छैन भन्न सकिन्न । वालवालिकालाई खाजा खुवाउनकालागि बजेट आउने गरेको छ । तर त्यसमा पनि कटौति गरेर कमाउन खोज्नु भनेको कलिला वालवालिकामाथिको सरासर अन्याय नै मान्नु पर्दछ । अहिले स्थानीय तहलाई आफ्ना क्षेत्रका विद्यालयहरु हेर्ने जिम्मेवारी दिईएको छ ।
स्थानीय तहमा शिक्षा शाखा पनि रहन्छ । विद्यालयमा हुने गरेका अनियमितता हेर्ने तथा फेला परेका कमजोरीमा सुधार ल्याउनकालागि स्थानीय तहकै प्रमुख भूमिका रहन्छ । तर बग्रेल्ती कमजोरी रहँदा पनि स्थानीय तहले त्यसमा चासो नलिने हो भने विद्यालयमा सुधार आउन त परै जाओस् उल्टै अवस्था बिग्रेर नजाला भन्न सकिन्न । विद्यालयमा आएको बजेट जुन प्रयोजनकालागि आएको हो त्यसमा खर्च गरिनु पर्दछ । अन्यथा गर्नेमाथि कारवाही चलाएर भए पनि बेथितिमाथि सुधार ल्याउन आवश्यक छ ।