सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको वेथिती विरुद्ध यहाँका नागरिकहरु संघर्षमा उत्रिने भएको छ ।
अग्नीसाईर कृष्णासवरन संघर्ष समितिद्वारा सितापुरमा शनिबार आयोजित सर्वदलीय भेलाले संघर्षमा जाने निर्णय गरेको हो ।
गाउँपालिकामा जनताको काममा भएको ढिलासुस्ती, जनप्रतिनिधि र कर्मचारीहरुले नियम विपरीत मापदण्ड मिचेर सेवा सुविधा लिने गरेको, भ्रष्टाचार नियन्त्रण हुनुभान्दा थप अनियमितताको घटना एकपछि अर्को सार्वजनिक हुने र नियन्त्रणमा जनप्रतिनिधि तथा कर्मचारीले चासो नदिएकोले संघर्षमा जाने निर्णय गरिएको संयोजक अरुण कुमार चौधरीले बताए ।
भेलालाई सम्बोधन गर्दै संघर्ष समितिका संयोजक अरुण कुमार चौधरी । फोटो: न्यूज टुडे
संघर्षका कार्यक्रम अन्तर्गत गाउँपालिकामा सूचना माग गर्ने, सूचना अनुसार पालिकामा संचालित योजना तथा कार्यक्रमको निगरानी राख्ने र बजेट सदुपयोग गर्न खबरदारी गर्ने र सूचना उपलब्ध गराउन आलटाल गरे, ज्ञापनपत्र बुझाउने र धर्ना, तालाबन्दीसम्मको दवावमुलक संघर्षका कार्यक्रम अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।
कार्यक्रममा पुर्व गाउँपालिका उपाध्यक्ष मिना चौधरी, प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु टीका लक्ष्मी चौधरी, विद्यानन्द लेखी, प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी चौधरी, गाउँपालिकाका उम्मेदवार रामदेव यादव, समाजसेवी रोशन कुमार मण्डर, महेश प्रसाद चौधरी विभिन्न राजनीतिक दलका प्रतिनिधि, पुर्व जनप्रतिनिधिहरु, पत्रकार, पुर्वकर्मचारीहरु लगायतका विभिन्न वडाका प्रत्यासी उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।