जाजरकोट र रुकुम पश्चिममा केही साता अघि गएको विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको छ ।
भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका पीडितहरुकालागि घर बनाउनकालागि कतिपय राजनीतिक दलका तर्फबाट पनि काम भईरहेको छ । तर बढ्दो चीसोका कारण त्रिपालका भरमा रात कटाउन यति बेला भूकम्पपीडितलाई साह्रै समस्या परिरहेको छ । विशेष गरी बृद्धबृद्धा, वालवालिका तथा सुत्केरीलाई कसरी जोगाउने भन्ने चिन्ता छ । विकट पहाडी भूभागका ती भूकम्पपीडितकालागि सरकारले कसरी सुरक्षित राख्ने हो भन्नेमा बढी चासो लिन जरुरी भए पनि पीडितहरुको अवस्था हेर्दा उति साह्रो चासो लिएको महशुस हुँदैन । अहिले चीसो याम उत्कर्षमा पुग्ने क्रममा नै छ । मुलुकका अन्य भागमा पनि ठण्डीको प्रकोप आउन सक्दछ । तराई मधेशमा त मंसीर, पुसमा शितहलरको सम्भावना बढी रहने गरेका कारण त्यहाँका जनतालाई पनि ठण्डीबाट जोगाउनकालागि पहिलेदेखिको पूर्वतयारी आवश्यक रहन्छ ।
यस प्रकारका विपत्ति आएमा समस्यामा परेकाहरुकालागि के के गर्न सकिन्छ भनि पहिलेदेखि नै तयारी थालियो भने यसले क्षति न्यूनीकरणमा पनि सघाउ पुग्दछ । जाजरकोटमा भुईचालोले घर भत्काएपछि बिचल्लीमा परेकाहरुमाथि अहिले ठण्डीले बढी सताउन थालेको छ । ठण्डीबाटै कतिपयको ज्यानै जानेसम्मका घटना भईसकेका छन् । त्यसैले पहिलेदेखि नै ठण्डीको सामना गर्ने सम्बन्धमा आवश्यक तयारी गर्न सकियो भने समस्या आउँदा त्यही तयारीले ठूलो राहत मिल्नेमा दुई मत हुँदैन । यस तर्फ सम्बन्धित निकायले सोच्न आवश्यक छ ।