• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा दिउँसै बत्ती बालेर नेता तथा साँसदको खोजी 

सप्तरीमा दिउँसै बत्ती बालेर नेता तथा साँसदको खोजी 
न्यूज टुडे
राजविराज, १२ मंसिर ।
सप्तरी युथ नेपालले राजविराजमा बुधबार दिउँसै बत्ती बालेर नेता तथा साँसदको खोजी गरेको छ । राजविराज १० स्थित रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै डेढ महिनादेखि स्थानीयबासी रिले अनशनमा बस्दा समेत नेता र साँसदहरुले चासो नदिएको भन्दै बत्ती बालेर उनीहरुको खोजी गरेको हो ।
दिउसै बत्ती बालेर नेता तथा साँसद खोज्दै सप्तरी युथआवद्ध युवाहरू । फोटो : न्यूज टुडे
प्रतिष्ठान निर्माणको काम अबिलम्ब सुचारू गर्न माग गर्दै सप्तरी युथले पुर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार उनीहरूले दिउँसै टर्च बालेर प्रदर्शन गरेका हुन्  ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले प्रतिष्ठान निर्माणको लागि अवाज उठाउन केन्द्रीय नेता तथा सांसदको खोजी गरिरहेको बताए ।
उनीहरुले स्वास्थ्य मन्त्रालयमा रोकिएको प्रतिष्ठानको फाइललाई अगाडि बढाउन जोडदार माग गरे ।
 यस विषयमा सरकार गम्भीर नभए यसबाट सम्पुर्ण सप्तरीबासीले नै दु:ख पाउने भएको भन्दै  बक्ताहरुले सप्तरीबाट निर्वाचित सांसदहरुलाई एक भएर यसमा लाग्न आग्रह गरे ।
निर्धारित कार्यक्रम अनुसार भोलि जिल्ला प्रशासन कार्यालयको अगाडि १ घण्टा धर्ना दिने कार्यक्रम रहेको  आन्दोलन परिचालन समितिको संयोजक सत्येन्द्र यादवले बताए । उनले धर्नामा सहभागी हुन सम्पुर्ण सप्तरीबासीलाई आग्रह समेत गरे ।
गत शनिबार सप्तरी युथ नेपालले आन्दोलन परिचालन समिति गठन गरि सप्ताहव्यपी आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
एक हप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए बैठक बसेर पुनः दोश्रो चरणको सशक्त आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन यादवले बताए ।
२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो ।
२२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपी अहिलेसम्म डिपिआर निमार्ण बाहेक त्यहाँ केही काम भएको छैन् ।
उता स्थानीय बासिन्दाहरु सोही माग राखेर डेढ महिनादेखि रिले अनसनमा बस्दा समेत सरकार भने बेखबर जस्तै देखिएको छ ।