• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी युथद्वारा प्रतिष्ठान निर्माणकाे माग गर्दै सिटि जुलुस प्रदर्शन

सप्तरी युथद्वारा प्रतिष्ठान निर्माणकाे माग गर्दै सिटि जुलुस प्रदर्शन

न्यूज टुडे

राजविराज, १२ मंसिर ।
सप्तरी युथ नेपालद्वारा रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गर्न माग गर्दै राजविराजमा मंगलबार सिटि जूलूस प्रदर्शन गरेको छ।
प्रतिष्ठान निर्माणको माग राखी आन्दोलित उनीहरुले तेश्रोदिन विरोध स्वरुप सिटि जूलूस प्रदर्शन गरेको हो ।
राज रंगशालाबाट निकालिएको युवाहरूको सिटि जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगि काेण सभामा परिणत भएको थियोे ।
युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको काेण सभामा बोल्दै बक्ताहरुले ठप्प रहेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब संचालन गर्न माग गरे ।
 प्रतिष्ठान निर्माण स्थलमा ४४ दिनदेखि रिले अनसन बसिरहेका स्थानीयबासीले उठाएको माग सम्बोधन गरि अनशन स्थगन गराउनेतर्फ सरकारलाई गम्भीर हुन आग्रह गर्दै बक्ताहरुले शान्तिपुर्ण संघर्षबाट सुनुवाइ नभए जारी आन्दोलनलाई निरन्तरता दिदै थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
कोणसभालाई रिले अनशनको नेतृत्वकर्ता राम कुमार दास, नेकपा एमालेका युवा नेता अखिलेश झा, सप्तरी युथका सदस्य मुस्तकिन आलम, सुरज यादव, बसन्त यादव, जय राम यादव ,अनिल यादव ,पशुपति कर्ण ,श्याम राउत सहितकाले सम्बोधन गरे ।
कोणसभाको संचालन सप्तरी युथका कार्ववाहक अध्यक्ष मोहन यादवले गरेका थिए ।
आन्दोलन अन्तर्गत बुधबार दिउँसो टर्च लाईट बालेर जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष यादवले जानकारी दिए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।
प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र विस्तारित परियोजना प्रतिबेदन (डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।