हुलाकी राजमार्गमा रोजगारीको सम्भावनाका विषयमा तीन दिन अघि राजविराजमा एक अन्तरक्रियाको आयोजना गरियो । हो,तराई मधेशकै विकासको मेरुदण्डका रुपमा रहेको हुलाकी सडक राज्यपक्षको विभेदकारी नीतिका कारण विगतमा ओझेलमा परेकै हो ।
यस सडक आसपासका जनताले सम्भावना रहँदा रहँदै पनि सडक अभावका कारणले अनेक प्रकारका समस्याको सामना गरेकै हुन् । सप्तरी खण्ड अन्तर्गत अधिकांश जसो हुलाकी सडक निर्माण भएपछि अहिले जिल्लाको पश्चिम भेगबाट पनि एक घण्टाभित्रै सदरमुकाम पुग्न सकिने सुगमता आएको छ । जिल्लावासीकालागि यो खुशीको कुरा हो । सडक ठीकठाक भएमा यातायातको कठिनाई हट्ने र यसले बजारसितको सम्पर्क बढाउने भएका कारण कृषि तथा व्यापार व्यवसायका दृष्टिकोणबाट पनि यो अति नै उपयोगी मानिन्छ । यही कारण हो कि विगतमा अत्यन्त पिछडिनाका साथै दुर्गम मानिएका हुलाकी सडकसित जोडिएका सप्तरीका गाउँहरु अचेल गुल्जार देखिन थालेका छन् ।
गाउँमा अधिकांशको जीवीकोपार्जनको आधार कृषि नै भए पनि बाटो अभावका कारणले पहिला त्यहाँ उत्पादित वस्तु बजारसम्म पुर्याउन निकै समस्या थियो । यसले एकातिर शहरी क्षेत्रका वासिन्दाले महँगोमा सागसब्जी किन्नु पर्ने बाध्यता अनि अर्कोतर्फ गाउँको उत्पादन कौडीको भाउमा बेच्नु पर्ने बाध्यताले जकडिएको अवस्था थियो । हुलाकी सडकका कारण गाउँको तरकारी बजारसम्म लैजान तथा बजारबाट अन्य दैनिक उपभोगका सामान गाउँगाउँसम्म ल्याउन अहिले सुगमता छ ।
तथापि सडकको केही खण्डमा निर्माणको काम अझै बाँकी नै छ । यस्तै केही पुलहरु निर्माण भई सञ्चालनमा आई नसकेका कारण तिनको पूर्णतातर्फ ध्यान दिन सकियो भने जिल्लामा रोजगारीका अवसर बढ्नेमा सन्देह रहने छैन ।