न्यूज टुडे
राजविराज , १० मंसिर ।
तराई मधेसका सन्तान प्राप्त गरेका महिलाहरुले आइतबारे ब्रत बसि दिनकर सूर्य भगवानको पूजा पाठ गरेकी छिन । सन्तानको दीर्घायूको कामना गर्दै महिलाले आइतबार देखि ब्रत सुरु गरेका हुन् ।
महिलाहरु आइतबारे व्रत अर्थात दिनकरको पूजापाठ कार्यमा दिनभरी नै ब्यस्त रहेको थियो । आयु एवम् सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवम् चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिनेगरेको ब्रतालु पर्मिला यादवले बताइन।
ब्रत लिँदा मंसिर महिनाको शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गरिने बताउँदै उनले कम्तिमा एक वर्षसम्म ब्रत लिनुपर्ने जानकारी दिइन् । कुनै कारणले एक वर्ष पूरा गर्न नसकेको अवस्थामा १२ वटा आइतबार अवश्य व्रत लिएमा मनोकमना पूरा हुने उनले बताइन् ।
केही महिलाले ६ महिनासम्म मात्र आइतबार ब्रत लिइ वैशाखमा समापन गर्छन् । व्रतका दिन ब्रतालु महिलाहरुले रातो कपडा, गरगहनामा सजिएर प्रसादलाई पोखरी तथा जलासयमा अर्घ दिएका छन् । यस दिन गहुँको रोटी मात्र सेवन गर्ने, भोजन गर्नुभन्दा पहिले स्नानगरी शुद्ध रातो कपडा लगाएर ॐ सूर्य नमः मन्त्रको जप थोरैमा पाँच माला सके व्रतको अवधिभरि गरिरहनु पर्ने बताइएको छ ।
यसपछि आइतबारको व्रतकथा पढ्ने वा सुन्ने अनि सूर्यलाई रातो अक्षता, रातो फूल र दुबोको जलले नमः सहस्रकिरण ! सर्वव्याधिविनासिने । गृहाणार्घयं मया दत्तं सन्ध्या सहितो रवे मन्त्र पढ्दै अर्घ दिनुपर्ने मान्यता रहेको पण्डित रामकुमार शास्त्रीले बताए ।
आइतबारे व्रतमा केरा, ठेकुवा, सखर खिचडी तथा फलफुलसहितका सामग्री जलासयमा लगेर पूजापाठ गरी दिनकर अर्थात सूर्य भगवानलाई अर्घ दिने गरिन्छ । अर्घ दिएपछि परिवारका सदस्यले प्रसाद ग्रहण गरिन्छ भने ब्रतालुले प्रसादसहित अरबा भोजन गर्दछ्न ।
फलफुल तथा यी सामग्रीलाई कलात्मक डालीमा सजाएर महिलाले सन्तानको दीर्घायु र घामपानीबाट कुनै असर नगर्नु भनेर दिनकरलाई अर्घ दिनेगरीन्छ । आइतबारे व्रतको तयारीमा यहाँका महिला शनिबार बिहानदेखि बजारमा किनमेलमा व्यस्त रहेका थिए । केरालगायत पुजा सामाग्री तथा फलफुल किन्नमा महिला व्यस्त रहेका थिए । आइतबारे व्रत विवाहित महिलाले मात्र लिनेगरेका छन् ।